अस्थिर बादल

मैले चुरोटको लामो सुर्को तानेपछि आफ्ना दुवै ओँठलाई चुच्चो पार्दै मुण्टो उकालो पारेँ अनि धुवाँको गोलो छल्ला बनाएर माथि आकाशतिर बुङ्ग उड़ाएँ।

हावाले खेलाउँदै उड़ाएर लगेको धुवाँको छल्लाले मलाई अतीतको रमाइलो पलमा पुर्‍याइदियो र मैले एकचित्त परेर उड़दै गरेको धुवाँलाई हेरिरहेँ। स्यानो चुरोटको इत्रु धुवाँले बनाएको जाबो छल्लाले पनि मनमा यत्रो उथुल-पुथुल मच्चाउँदो रहेछ तर आफ्ना भावहीन अनुहारमा मैले कुनै भाव देखाइन, अँ ! उड़दै हावासित एकाकार भइरहेको धुवाँमा एकाग्रित मेरो अनुहारमा भएको कालो चश्माको मुनिबाट चुँहुदैगरेको पानीको धारालाई भने मैले रोक्नु सकिनँ। निकैपल्ट मैले धुवाँ उड़ाउने क्रियालाई दोहोराएपछि, डाँड़ाको एकछेउमा भएको बेञ्चीमा गएर थचक्क बसेँ र त्यहाँबाट तल देखिने मनोरम दृश्यमा आफ्ना बेचैन आँखाले वर्षौंअघि छाड़िगएका पल खोज्नथालेँ। मलाई यो पहाड़ असाध्यै राम्रो लाग्छ, पहाड़को माथि-माथि उड़्दै गरेको सेतो चञ्चल बादल – कति अस्थिर छ कहिले एक ठाउँ बस्दैन। कहिले जुरुम्मै सबै एकै ठाउँ भेला भएर पहाड़ नै उड़ाउला जस्तो गर्छ अनि कहिले सबै एका-अर्काबाट यति टाड़ा-टाड़ा जान्छ मानौँ एकाअर्कासित कुनै सम्बन्ध नै छैन सरह्। त्यै बादलभित्र पानी पनि छ कि चालै पाउँदैन – तर धेरै जसो बादल पानीमा परिवर्तन नभई त्यसै आकासमै बिलाउँछ। त्यसैले त यो पहाड़ मलाई साह्रै राम्रो लाग्छ, कहिले यसलाई नछोडूँ, सधैँ यहाँ आइरहूँ जस्तो लाग्छ। तर जीवनको व्यस्तताले गर्दा सधैँको लागि बस्नु त होइन आउनु पनि भ्याउँदिन।

‘च्याटर्जी सा’ब अब बेसी टाड़ो छैन, उ त्यहाँ हो बङ्गला, जौँ अब!’ गाड़ी ड्राइभरले औँलाले देखाउँदै मलाई भन्दा मेरो तन्द्रा टुट्यो।

‘आमी जानी मैले लामो साँस काड़ेर भनें।

‘तपाईँ पहिले पनि आउनु भएको?’ शुद्ध बाङ्ग्लामा उसले सोध्यो फेरि।

मैले ‘अँ’ को सङ्केतमा टाउको हल्लाएँ।

शहरबाट चिप्ले ढुङ्गास्थित डाक बङ्ग्ला जाँदा बाटामा भेटिने यो सबैभन्दा अग्लो ठाउँ हो – डाँड़ा गाउँ। यहाँबाट पारी सिक्किमका डाँड़ापाखा, कञ्चनजङ्घा र मदेसका केही भागका मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। आजभन्दा झण्डै पच्चीस-तीस वर्षअघि म पहिलोपल्ट यहाँ आउँदा यहाँ यति पसलहरु थिएनन्, आज यहाँ बग्रल्तै पसलहरु र घरहरु थपिएछन्। त्यसताकको चकमन्नतालाई पसले र पर्यटकहरुको घुइँचोले उछिनेता पनि यो ठाउँको सुन्दरता भने अझै जस्ताको त्यस्तै छ। तर मेरो ध्यान भने त्यसबेला पनि यो सुन्दरता र त्यो चकमन्नतामा थिएन अनि आज पनि यो सुन्दरता र होहल्लामा छैन। मैले त तीस वर्षअघि यहाँ छाड़िगएका यादहरुलाई बटुलेर थुपार्ने कोसिस गर्दैछु - आफ्नै धुनमा।

त्यसबेला यो बेञ्ची यहाँ थिएन क्यार ! किनभने म र कनकलता त्यो बेला यो बेञ्चीमा बसेको मलाई याद छैन। हामी त्यसबेला यतै-कतै हरियो घाँसमाथि बसेका थियौँ, कनकलता घाँसमाथि पल्टिएकी र हाम्रो चार वर्षे छोरो प्रोदिप्तो उमाथि घोप्टिएको फोटो अझै पनि हाम्रो एल्बममा सुरक्षित छ। तर म किटान गर्न सक्दिनँ, सकुँ पनि कसरी ! कति थुप्रै समय बितिसकेछ, अनेकौँ घटना र दुर्घटनाले जीवन लटरम्म भइसकेको छ। एउटा जीवनमा पच्चीस वर्ष कम्ती होइन, होनि पच्चीस वर्ष, पच्चीस वर्षभन्दा पनि अझै बेसी भइसकेछ, झण्डै तीस वर्ष। त्यो 1987 आरम्भ हुनुपर्छ, त्यसबेला पहाड़मा गोर्खाल्याण्डको आन्दोलन चरममा थियो। बन्द, मारमार, कर्फ्युले पहाड़ सधैं ग्रस्त रहन्थ्यो, त्यहीबेला म, स्वास्नी कनकलता र चार वर्षे छोरो प्रोदिप्तोलाई लिएर छुट्टी बिताउन पहाड़ आएको थिएँ। कतिले मलाई त्यसबेला पहाड़को स्थिति बुझाउँदै पहाड़ नजाने सल्लाह दिएका थिए। तर बिहेपछि छोरो भएर चार वर्ष बितिसक्दा पनि बेपारको व्यस्तताले गर्दा स्वास्नी कनकलतालाई घुमाउनु कतै लानु नसकेको पीड़ा थियो मलाई। पहाड़को स्थिति अझ उग्र हुनुअघि पहाड़ घुम्ने बनाएको योजना मैले रद्द गरेर फेरि कनकलतालाई दुखी बनाउने इच्छा थिएन मलाई। अझ पहाड़को आथित्य सत्कार र आगुन्तकहरुप्रति यहाँका रैथानेहरुको सुव्यवहारबारे मैले पहिले पनि आफै अनुभव गरेको थिएँ र मलाई विश्वास थियो कस्तै स्थितिमा पनि पहाड़मा हाम्रो छुट्टी यादगार रहने छ। हो त त्यसबेला यो डाँड़ासम्म आइपुग्दा मैले बाटामा पहाड़को भनेको जस्तै उग्ररुप कतै देखिनँ न त कतै कुनै अशान्तीको चिह्न नै देखें। हुनुसक्छ भित्र-भित्र असङ्ख्य पीड़ा र वेदना बोकेर बाहिर पहाड़ हाँसिरहेको होला....हामी एक-दुइ दिन छुट्टी व्यतित गर्नु आउने पर्यटकलाई त्यो पीड़ा के थाहा- के वास्ता र ! आज झण्डै तीस वर्षपछि फेरि यो डाँड़ासम्म आइपुग्दा मलाई कतै कुनै अप्ठ्यारो परेन - पहाड़ले सधैं झैं आफ्नो जम्मै दुख-कष्ट बिर्सेर अङ्गालो फिँजाएर मलाई स्वागत गरिरहेको आभास भयो मलाई। साँच्चै पहाड़को न्यानो स्वागतले म अभिभुत भएको छु। धुवाँलाई बुङ्ग-बुङ्ग उड़ाउने प्रक्रियामा धुवाँ घाँटीमा कतै सर्कियो- सर्काइले मेरो सोँचाईमा बाधा पुर्‍यायो – दाहिने हत्केलालाई मुट्ठी बनाएर मुखको अगाड़ि लगेर खोक्क-खोक्क खोकेँ। कतिपल्ट चुरोट नखाने सङ्कल्प गरेता पनि यही चुरोटले एक दिन मलाई खाने कुरामा म आश्वस्त छु – तर म लाचार छु – चुरोटको  दास भइसकेको छु। तीस वर्षअघि कनकलता र छोरो प्रोदिप्तोको फोटो खिँचेको ठाउँहरुलाई मैले आज सक्दो आफ्नो आँखाको फ्रेममा कैद गरेपछि बिस्तार गाड़ीतिर लागेँ।

डाँड़ा गाउँबाट गाडी ओह्रालो लाग्यो अब एक घण्टापछि डाक बङ्गला पुगिने छ। डाक बङ्गला – तीस वर्षअघिका घटनाहरु झल्झली मेरो आँखाअगाड़ि नाच्नु थाल्यो। डाक बङ्गलाको छेउ-छाउ बिताएका पलहरुले मेरो मन कोट्याउनु थाल्यो। हो नि डाक बङ्गला – जहाँ मैले कनकलता र छोरोसित एक-दुइ दिन बिताएको थिएँ। अनि त्यो रात त - आम्बौ।

ढक्-ढक्-ढक्....

मध्यरातमा कसैले दैलो ढकढकायो।

कनकलता र प्रोदिप्तो पहाड़को चिसो मौसममा मज्जाले सुतिरहेका थिए।

म बिस्तार उठेँ।

दैलो अगाड़ि एक हुल युवाहरु थिए – टाउकोमा हरियो रिबन बाँधेका।

एक छिन त म झसङ्ग भएँ।

‘को हौ तिमी?’ आगाड़ीपट्टीको युवकले सोध्यो।

मैले बुझिनँ।

‘हाँ!!’भनेर हात हल्ल्याउँदै नबुझेको इशारा गरेँ।

‘कौन हैं?’

‘म त टुरिष्ट हुँ!!’ भनेँ।

‘यसलाई छोड़्‍...महेशलाई खोज।’

‘हैन यसलाई पनि ठिक पार्नु पर्छ।’

‘कै गर्नु पर्दैन हिँड़्‍...महेशको कोठातिर हिँड़्‍।’

उनीहरु गए....एक छिन त मेरो जीउ डरले लग-लग काम्यो। तर मैले गर्नु पर्ने र गर्नु सक्ने केही थिएन। कनकलता र प्रोदिप्तोले चाल नपाओस त्यति नै मेरो बिचार थियो। उनीहरु अझै मस्त निद्रामा थिए। ढुक्क लाग्यो। दैलो बन्द गरेर म चुप-चाप् भित्र पसेँ अनि लाइट निभाएर खिड़्कीदेखि चियाएर हेरेँ – बाहिर ती युवाहरुले महेशलाई वरिपरी घेरेर तर्का-तर्की गर्दै थिए। कुरा मैले केही बुझिनँ। पलङ्गमा बिस्तार आएर म निदाउने प्रयास गरेँ तर आँखाबाट निद्रा हराइसकेको थियो- बिहानपख म झमक्क निदाएछु। कनकलताले ‘कति सुतेको’ – हिँड घुम्नु जाउँ’ भन्दा पो म बिम्झिएछु। कोठाबाट बाहिर निस्किनै लाग्दा दैलोअगाड़ि महेश चिया लिएर ठिङ उभिएको देखेँ। महेश – यो डाक बङ्गलाको चौकिदार, भान्से, माली , म्यानेजर जे भने पनि हुन्छ – डाक बङ्गलाको पुरै जिम्मा उसैको हातमा छ अनि उसले राम्ररी सम्हालेको पनि छ।

टि-पोट टेबलमा राखेपछि मतिर फर्केर भन्यो – ‘सा’ब एक छिन सुन्नुहोस्‌!’

कनकलता चिया बनाउनु थाली।

म महेशसित बाहिर निस्केँ।

छोरो प्रदिप्तो र महेशको दौतरे छोरो आँगनमा खेल्न मस्त छन्‌। भाषा नमिले पनि सुवै साथी भइसकेका छन्‌।

‘राति के भयो ।‘ मैले बाङ्ग्लामै सोधेँ, महेश बाङ्ग्ला भाषा राम्रो बोल्छ।

उसले जवाफ दिएन उल्टै भन्यो ‘सा’ब तपाईँहरु अहिले फर्किनुहोस्।’

उसको कुरा सुनेर म चकित परेँ ‘ हाम्रो त अझै चार-पाँच दिन बुक छ!!’

‘होइन सा’ब मेरो कुरा मान्नुहोस, केटाहरु जबरजस्ती गर्दैछ...हिज राति पनि डाक बङ्गला जलाउनु आएको थियो.... तिनीहरुलाई सम्झाउनु मलाई साह्रो पर्‍यो। बल्ल-बल्ल सम्झाएर पठाएँ..कति दिन सम्झाउनु..त्यसैले तपाईं नानीहरुलाई लिएर अहिले हिँड़िहाल्नोस्।’

‘अहिले?.....हिज राति कसरी मान्यो उनीहरु ?’- रातिको कुरा सम्झेर मेरो आङ जिरिङ्ग भयो।

‘त्यो त सा’ब सबै मेरै भाइहरु हुन, मेरो कुरा खान्छ। म पनि तिनीहरु जस्तै आफ्नो जाति र अस्तित्वको लडाइको सिपाही हुँ। तिनीहरुसित म पनि कति राति यसरी हिँड़ेको छु। म पनि तिनीहरुसित कति राती हिड़ेकोछु।’

‘तिमीले पनि.....के यो ठिक हो ?’

‘मलाई थाहा छैन ठिक हो कि होइन...हाम्रो चिन्हारी र अस्तित्त्वसामु सबै स्यानै लाग्छ। तर आफ्नो धरोहर नष्ट गर्नु सही होइन कि जस्तो लाग्छ....हो यो डाक बङ्गला अङ्ग्रेजहरुले बनाएको तर रगत र पसिना त मेरै पुर्खाहरुको बगेको छ यसमा......जे होस सा’ब हिज त तिनीहरुलाई मैले सम्झाएँ सधैं सम्झाउनु सक्दिनँ....त्यसो त यो डाक बङ्गला राति जलाइहाले पनि तपाईंको केही अहित हुन्न बस राति तपाईंको बिल्लीबाठ हुन्छ, राति कष्ट पाउनु हुनेछ र आज..अहिले नै तपाईं गइहाल्नोस्‌....तपाईंको भलो भनेको।’

मसित अरु कुनै विकल्प थिएन र मैले कनकलतालाई सम्झाएँ.....जम्मै कुरा भनिनँ....अनि महेशले ठिक पारिदिएको गाड़ीमा धूलो उडाउँदै सिलगड़ी तिर लागें।

त्यही ढुङ्गै-ढुङ्गा भएको कच्चा बाटो भएर डाक बङ्गलातिर जाँदा सम्झेँ – अहिले त्यहाँ महेश छ कि छैन होला ? महेशको प्रोदिप्तोकै उमेरको छोरो पनि थियो....उ कत्रो भयो होला...सबै त्यहीँ होला...मनमा अनेकौं बिचार खेलिरह्यो।

पहाड़को सौन्दर्यमा अझ कुनै कमी आएको छैन – आन्दोलन, अशान्ती र सन्त्रासले पहाडको रूपलाई कुरुप पार्नु सकेको छैन – अझै पहाड़ त्यतिकै सुन्दर र आकर्षक छ जस्तो यो तीस वर्ष अघि थियो सायद त्योभन्दा पनि पहिले थियो – वर्षौं पहिले, सय वर्ष वा हजारौं वर्ष पहिले। तीस वर्ष पहिले यहाँ आउँदा मैले जुन रोमाञ्च र आकर्षण महसुस गरेको थिएँ त्यही रोमाञ्च र आकर्षण मैले आज पनि महसुस गरिरहेकोछु, बस त्यो अनुभव बाड़्‌ने कनकलता आज मसित छैन।

डाक बङ्गलाको मेन गेटमा पुगेर ड्राइभरले जोड़ले होर्न बजायो.....भित्रबाट एउटा तन्नेरी केटो कुद्दै आएर गेट खोल्यो।

गाड़ी डाक बङ्गलाको पोर्टिकोमा पुगेर रोकिंदा त्यो केटो फेरि कुद्दै आएर गाड़ीको दैलो खोलिदियो।

त्यो केटोमाथि मेरो आँखा पर्दा म झसङ्ग भएँ – महेश अझै जस्ताको त्यस्तै- र उत्रिनेबित्तिकै भनें  - ‘मोहेश तिमी त जस्ताको त्यस्तै छौ त !!!!!’

उसले मेरो कुरा सायद बुझेन, ऊ मुसुक्क हाँस्यो र हिन्दीमा भन्यो– ‘सा’ब बङ्गाली नै जानता।’

मैले हिन्दीमै अघिको प्रश्न दोहोराएँ तर मेरो कौतुहल पहिलेभन्दा अलिक कम थियो।

त्यो केटोले हाँस्दै ‘नमस्कार’ गर्‍यो र भन्यो -‘म महेश होइन सा’ब, म महेशको छोरा रमेश हुँ।’

‘ओहो !’ भनें मैले र नसोची बोलेको निम्ति मलाई अलिक लाज पनि लाग्यो.....सोधें -‘ मोहेश खोइ?’

‘महेश त उहिले एक्पाएर भयो’,- मेरो सुटकेस उठाउँदै रमेशले भन्यो।

बिचरा महेश......कस्तो राम्रो र मिल्ने थियो, जे भने पनि मान्ने, सुन्ने, मैले सिगरेट दिंदा उसले लजाउँदै थाप्थ्यो.....अनि बेलुकी अलिक मातेर आउँदा मैले उसलाई हकार्थेँ , ‘मोहेश तिम्रो सबै बानी राम्रो छ तर तिम्रो यो दारू खाने बानी मलाई मन परेन।’  मेरो कुरा सुनेर ऊ एकछिन खितितिति हाँस्थ्यो अनि भन्थ्यो ‘म भोलिदेखि खाँदिन सा’ब, मेरो यो छोराको कसम सा’ब।’  तर उसले आफ्नो बानी कहिले छोड़ेन।

बेलुकी रमेश खाना लिएर आयो – महेशको सबै जिम्मेवारी रमेशले वहन गरेको मैले स्पष्ट देखेँ। बाउले जस्तै उसले पनि डाक बङ्गलाको राम्ररी हेरचार गर्दैछ। तन्नेरी रमेशलाई हेर्दा ट्याक-टुक महेश देख्छु म – कुनै फरक छैन। मेरो अगाड़िको टेबलमा खानाको प्लेट राख्दा उसको मुखदेखि ह्वास्स रक्सीको वासना आयो। जम्मै बानी जस्तै बाउको रक्सी खाने बानी पनि उसले लिएछ।

खानाको प्लेट टेबलमा राखीसकेपछि उ ठिङ्ग त्यहीं उभियो – हात अगाड़ी बाँधेर । मैले सोधें –‘केही छ ?’ 

 ‘सा’ब अब पर्सीदेखि हाम्रो घर-भित्र, घर-बाहिर आन्दोलन शुरु हुन्छ, खाना-पीनाको तपाईंलाई कष्ट हुन्छ र तपाईं भोलि फर्किहाल्नुहोस् ।’

‘के हो यो आन्दोलन ? किन यति आन्दोलन गरेको तिमीहरु?’

‘सा’ब यो हाम्रो चिह्नारी र अस्तित्त्वको कुरा हो, हाम्रो गान्धीवादी आन्दोलन हो.....अहिले हामी आन्दोलनमा छौं, त्यसैले तपाईं गइहाल्नुहोस्। पछि सबै साम्य भएपछि आउनुहोस्।’

‘कहिलेसम्म तिमीहरू आन्दोलन गर्छौ ?’

‘थाहा छैन सा’ब, मेरो बाउ पनि जाति र चिह्नारीको लड़ाईको सिपाही थियो, ऊ यसैमा शहीद भयो...अब हामी लड़दै छौं...जबसम्म हाम्रो सपना पुरा हुँदैन तबसम्म हाम्रो आन्दोलन चलिरहन्छ... हुनसक्छ मेरो यो स्यानो छोरा पनि ठुलो भएर जाति र चिह्नारीको यो लडाईको सिपाही बन्नेछ।’

तीस वर्ष अघि पनि मसित कुनै विकल्प थिएन आज पनि छैन।

अर्को दिन रमेशले ठिक पारिदिएको गाड़ीमा चड़दै मैले उसलाई हेरें, डाक बङ्गलाको आँगनमा खेलिरहेको उसको छोरालाई हेरें तर केही भन्ने आँट चाहिँ चलेन।

अनि धूलो उड़ाउँदै गाड़ी बजारको बाटो उकालो लाग्दा मैले मेरो डाक्टर छोरोलाई कोलकत्तामा फोन लगाएँ, आमी ठिक आछि । किछु अस्वाभाविक परिस्थितिर कारने आमि आज कलकाताए फिर्छि । चिन्ता करो ना।’

 

*********

No comments:

Post a Comment