२०१७ जुलाई महीनाको मध्य भाग । पश्चिम क्षितिजमा घाम डुबिसकेकोछ तर अँध्यारोले आफ्नो साम्राज्य अहिले फिँजाइसकेको छैन। ब्रह्मपुत्र नदीको किनारको रिभरसाइड अल्फ्रेस्को ग्र्याण्डको खुला रेस्ट्रोँमा जति घुट्को बियर खान्छु त्यति पुरानो पलमा पुग्छु म। आजभन्दा झण्डै दस-एघाह्र वर्ष अघिको कुरो हो – यहीँ मैले पखिलालाई बढ़ो रोमाञ्चक र अनौठो पाराले भेटेको थिएँ। त्यसबेला यो अल्फ्रेस्को ग्र्याण्ड थिएन अल्फ्रेस्को मात्र थियो। सायद दाजु-भाइमा अंश-बण्डा भएको होला – एकताकाको अल्फ्रेस्को अहिले अल्फ्रेस्को र अल्फ्रेस्को ग्र्याण्ड भएको छ। जीवन कति परिवर्तनशील छ – मानिसले जति नै चाहे पनि आखिर सग्लो त कुनै थोक आजीवन रहदैन रहेछ। यही अल्फ्रेस्कोमा मैले पखिलालाई भेटेको थिएँ। पखिलासितको त्यो अनौठो भेट साँच्चै मैले आजसम्म भुलेको छैन।आकासी नीलो सलवार-कमीजमा म्याच गर्ने निधारमा नीलो टिको, हातमा नीलो ब्याग, कानमा नीलो कानफूली, नारीमा नीलो बाइँ, खुट्टामा नीलो जुत्ता र गोरो मुहारमा सानो खैरो चश्मा- मेरो आँखामा पखिलाको त्यो पहिलो झलक अझ झल्झल्ती छ। पखिलासित छुटेपछि उसित फेरि कहिले कुनै सम्पर्क भएन – कता होली, कस्ती होली, के गर्दै होली—जेलमा पो पुगी कि? जिउँदै पनि छ कि ? कहिले-काहीँ औधीँ याद आउँछ। आज झण्डै दस वर्षपछि गुवाहाटीको त्यही ठाउँमा आइपुग्दा म नोस्टाल्जीक भएकोछु। पखिलालाई भेटने उत्कट इच्छा जागेको छ मेरो मनमा। तर.....तर मसित उसको ठेगान छैन न त सम्पर्क नम्बर नै। त्यसबेला मोबाइलको त्यति चलन थिएन...फेरि मैले त्यसबेला पखिलाले मोबाइल चलाएको पनि देखिनँ। उसको घरको ठेगानादि पनि लिइनँ बस जोरहाटको निमातिघाटमा कमलापुर गाउँ हो मेरो भनेकी थिई....कता हो यो कमलापुर....कता होला निमातिघाट ....त्यहाँ पुगेर खोजे भेटिन्छ कि भेटिँदैन होला। हुन त यसबेला गुवाहाटीमा मेरो केही काम छैन पहाड़मा चलिरहेको छुट्टै राज्यको आन्दोलनको भुमरीमा अल्झिएर यहाँ बरालिरहेकोछु, अझै बरालिँदै कता पुगिने हो केही थाहा छैन मलाई। कोही-कोही बेला त भविष्य निष्पट अँध्यारो र गन्तव्यविहीन देख्छु। होइन यस्तो निराश हुनु राम्रो होइन – मेरो एउटा मनले मलाई प्रोत्साहन दिन्छ- मलाई थाहा छ हार-जीत र सफलता-असफलता भन्ने मनोस्थिति मात्रै हो। जीत हुने, सफल हुने विश्वास जन्माउनु छ मनमा मलाई – मलाई सङ्घर्ष गर्नु छ- लड़ाई लड़नु छ यति छिटो हार मान्नु छैन – किनभने जीवन अझै सकिएको छैन। मनले हारेको दिन म साँच्चै जीवनदेखि पनि हार्नेछु।
अँ,याद आयो मलाई- एकदिन बेलुकी पखिलाले चानमारीको एउटा गल्लीभित्र पस्ने दोबाटोसम्म लगेर भित्रतिर औँलाउँदै ‘म यहीँ बस्छु’ भनेकी थिई। हुनसक्छ ...त्यहाँ गएर खोज-तलाशी गरे उसको घरको कुनै सुराक पाइन्छ कि! उसको मोबाइल नम्बर नै पाइयो भने पनि भयो। त्यसो त पखिलालाई नभेटदा पनि हुन्छ तर छोटो अवधिको पछिल्लो भेटमा उसित जुन आत्मीयता गाँसिएको थियो त्यो अमिट छ...ढुङ्गामा कोपेको जस्तै उसको याद मेरो मनमा अझ कोपिएको छ....र यसपल्ट आसाममा उसलाई पहिले भेटेकै ठाउँमा फेरि आउने संयोग बनिँदा उसलाई भेट्ने र उसको हाल जान्ने उत्कट इच्छा जागेको मात्र हो......भविष्यमा फेरि आसाम आउने साइत जुर्ला नजुर्ला र एकपल्ट चानमारी गएर पखिलाको पत्तो लगाउने अठोट गरेँ मैले।
म सिटी बसमा चानमारीको त्यहीँ ठाउँ पुगेँ । गुवाहाटी शहरको यात्रा गर्नु सिटी बस जति सुलभ अरु केही छैन तर पहिलेभन्दा अहिले भाड़ा भने निकै बढ़ेछ। बसदेखि ओर्लेर पखिलाले देखाएको गल्ली खोजेँ। पहिलेभन्दा निकै परिवर्तन भए पनि त्यो गल्ली ठिम्माउन मलाई त्यति अप्ठ्यारो परेन। मूल सड़कदेखि भित्र पसेँ। मूल सड़कसम्म सफा र राम्रो भए पनि जति भित्र पस्दै गयो बाटो त्यति फोहोर र साङुरो हुँदै गयो। कोलाहल पनि बढ़्दै गयो- दुर्गन्ध पनि। मैलाको थुप्रो, गन्हाउने नाला – बाहिरबाट शहर जति नै चम्किलो देखिए पनि भित्र सबैको हालत यस्तै छ। कसरी बस्छन् मानिसहरु यस्तोमा। हुन त कुनै विकल्प नरहे मानिसले गरोस् पनि के र! मर्नुभन्दा त बौलाउनु नै निको। पखिला पनि कसरी बस्थी होली यस्तो फोहोरमा, सोचेर मेरो आङ एकपल्ट जिरिङ भयो। एउटा झोपड़ीको अघि लुगा धुदै गरेकी प्रौढ़ आइमाईलाई शायद पखिला बारे थाहा होला भनेर सोधेँ – ‘बाइदेउ, यतातिर निकै दिनअघि पखिला नाम गरेकी एउटी केटी बस्थी?’
‘पखिला? अहँ म त चिन्दिनँ !!’ त्यसपछि अरु दुईतीनजनालाई अझ सोधेँ तर कसैले भन्न सकेनन्।अब मलाई यो ठाउँमा पखिलालाई खोज्नु व्यर्थै लाग्यो। एक त यसै फोहोर भएन शहरमा प्रत्येक दिन कति मानिस आउँछन् कति जान्छन् कसलाई थाहा होला – यस्तो स्थितिमा दस वर्ष अघिको मानिसको बारेमा सोध्नु पनि मुर्खता नै हो। फेरि यस्तो ठाउँमा पखिला बस्ने कुरा पनि मलाई पत्याउँदो लागेन, हुनसक्छ सुरक्षाको निम्ति मलाई भ्रमित पार्नु उसले गलत ठेगान दिएकी होली त्यसबेला।
होटलमा आएर पलङमा पल्टेँ, निकै बेरसम्म मलाई निद्रा लागेन। मनमा थरी-थरीका कुराहरु खेलिरह्यो। पहाड़मा अझै अनिश्चितकालीन बन्द जारी छ। के हुने हो पहाड़को समस्या? कस्तो समाधान निस्केला? पहिलेको जस्तै कुनै बिसौनीमै गएर कुरा अल्झिने हो कि? उता दिल्लीमा युवाहरुको ग्रुपले जन्तर-मन्तरमा निकै आन्दोलन चर्काउँदै छ। दिन्हौँ धरना-प्रदर्शन गरिरहेको छ। देश-विदेशको विभिन्न ठाउँमा भइरहेको विरोध प्रदर्शनको खबर पनि फ्यासबुक मार्फत पढ़िरहेकोछु। केही राम्रै हुन सक्ने आशा त छ। एकातिर हाम्रा पहाड़कै दलहरुमा मतभिन्नता छ। उता पहाड़का युवाहरुको समूहले चालेको साँस्कृतिक अभियान पहलले पनि निक्कै समर्थन पाइरहेकोछ। विश्वविद्यालयका गोर्खा विद्यार्थीवर्गको विरोध प्रदर्शन गर्ने तरिका पनि सराहनीय छ। अचेलका नौला ठिटाहरुमा समस्यालाई नयाँ पाराले हेर्ने र नयाँ तरिकाले समाधान गर्ने दुर्दृष्टि छ – यो तथ्यलाई हामीले स्वीकार्नै पर्छ। यस्तै सोच्दा-सोच्दै कति बेला निदाएछु चालै पाइनँ।
यदि पखिलासित भेट गर्नु छ भने अब कमलापुर जानु छाड़ेर अरु
कुनै विकल्प छैन मसित। हुन त गुवाहाटीको आफ्नो ठेगान उसले गलत दिए झैँ यो
निमातिघाट र कमलापुर पनि हो हैन एकछिन यो मन दोधार भयो। यसै पनि दस-पन्ध्र दिन
गुवाहाटीमा त्यसै बितिसके अझै कति दिन बिताउनु पर्ने हो थाहा छैन र यता आएको बेला
बरु एकपल्ट पखिलालाई खोजेकै राम्रो होला भन्ने ठानेँ मैले – समयको सदुपयोग पनि र
यदि ठेगान गलत नै निस्के पनि यही निहूँमा आसाम हेर्न त पाइन्छ। फेरि भएन यहाँ पनि
होटेलमै बस्ने त्यहाँ गएर पनि होटेलमै। जाने अठोट गरेपछि बिहान मैले होटेलको
म्यानेजरलाई जोरहाट, निमातिघाट र कमलापुर बारे सोधेँ। उसले मलाई ‘कमलापुर त थाहा
छैन तर जोरहाट पुगियो भने निमातिघाट जानु सकिन्छ’ भन्यो।
जोरहाट कसरी जानु ? सोद्धा ‘सजिलै छ, थुप्रै बस जान्छ। ट्रेन पनि थुप्रै जान्छ। सबैभन्दा सजिलो एका-बिहानै जनशताब्दी एक्सप्रेसमा गुवाहाटीबाट हिड़्यौँ भने दिउँसो १-२-बजी जोरहाट पुगिहाल्छौ’ बोरा म्यानेजरको जवाफले मलाई जोरहाट त्यति टाढ़ो नरहेको र जानु सजिलै रहेको आभास भयो। त्यहाँ पुगेर सोध-खोज गरे कमलापुर पनि पुगिन्छ होला सोचेँ मैले।
‘कोही छ तिम्रो जोरहाटमा?’ उसले सोध्यो।
‘पुरानो साथी छ –कमलापुरमा,भेट्ने इच्छा थियो!!’-भनेँ मैले।
‘जानु नि त........जन-शताब्दीमा टिकट पाइहाल्छ....६-बजी बिहान गएको ट्रेन दिउँसो २-बजी तिर जोरहाट पुग्छ.....मेरो भाइ दिगन्तो जोरहाटमा होटल चलाउँछ..म उसलाई खबर गरिदिन्छु...उसैको होटलमा बस्नु अनि तिम्रो कमलापुर र साथी खोज्नु पनि उसले मदत गर्छ’- भन्यो उसले।
भोलि ग्लोबल गोर्खाल्याण्ड मार्च.....भोलिको मार्चमा सहभागी भएर पर्सि जोरहाट हिँड़ेर एकपल्ट पखिलालाई खोज्ने प्रयास गरेकै बेस ठानेँ मैले। होटेलको बोरा म्यानेजरले फोन गरेर उसको भाइ दिगन्तोलाई जोरहाटमा मेरो बस्ने व्यवस्था र मदत गर्ने आग्रह गर्यो। सारा संसारसरह गुवाहाटीमा पनि भोलि हुने ग्लोबल गोर्खाल्याण्ड मार्चको जानकारी लिनु गुवाहाटीका युवाहरूलाई खोज्दै म नेपाली मन्दीरतिर लागेँ।
३१ जुलाई सोमबार बिहान ६.३० बजी गुवाहाटीबाट हिँड़ेको
जनशताब्दी एक्सप्रेस झण्डै ७ घण्टाको यात्रापछि १.३० बजीतिर ४०० किलोमिटर टाढ़ा
जोरहाट पुग्यो – निर्धारित समयभन्दा झण्डै ५-१० मिनेट लेट। निकै दिनपछि
भारतीय रेलको कुनै सेवामा यसरी समयमा गन्तव्य पुग्न पाएको निम्ति आउँदो दिनको
राम्रो साइत बुझाएको जस्तै लाग्यो मलाई। गुवाहाटीको बोरा म्यानेजरले भनेको होटल
पुग्नु मलाई त्यति गाह्रो परेन।
होटलमा पुग्दा उसको भाइ दिगन्तोले मलाई चिनिहाल्यो –‘नमस्ते सर म दिगन्तो....तपाईँ त देख्दा हाम्रा यताकै जस्तो देखिँदोरहेछ- ट्राइबल दाजुभाइ जस्तै।‘
‘हो र !’ भनेर म मुसुक्क हाँसेँ मात्रै।
‘बस्नोस् न,’- मीठो हिन्दीमा भन्यो उसले –‘चिसो खानुहुन्छ कि तातो?’
चियाको तल-तल लागिरहेको थियो अघि ट्रेनको चिया खल्लो न खल्लो थियो र भनेँ-‘मीठो तातो चियो खाउँ न।’
‘ओके सर’-भनेर उसले काम गर्ने केटोलाई स्पेशल चिया ल्याउने आदेश दियो –‘तपाईँलाई थाहा छ सर अप्पर असम चियाको निम्ति प्रसिद्ध छ। टोकलाईको चिया अनुसन्धान केन्द्र पनि यहीँ छ। त्यति मात्रै होइन जोरहाटलाई असमको सांस्कृतिक राजधानी पनि भनिन्छ। अब यहाँ एउटा सांस्कृतिक विश्वविद्यालय खोलिने कुरा पनि छ। उहिले अहोम अधिराज्यको अन्तिम राजधानी यहीँ जोरहाटमा थियो’रे। दाजुले भन्दै थियो निमातिघाटतिर तपाईँको कोही छ’रे। त्यही निमातिघाट भएर संसारको सबैभन्दा ठूलो रिभर आइल्याण्ड माजुली जानु सकिन्छ। माजुलिमा वैष्णवी गुरु श्रीमन्त हङ्करदेवका हत्रहरु छन्। जोरहाट इज् ए नाइस प्लेस यू वील एञ्जोय हियर सर।’-थप्यो उसले।
दाजुभन्दा मलाई भाइ दिगन्तो निकै चनाखो लाग्यो।‘मलाई घुम्नु-सुम्नु छैन तर एउटा पुरानो साथी खोज्नु छ कमलापुरमा!!’ भनेँ मैले।
‘ठीकै छ नि सर ...मलाई दाजुले सबै भनेको छ ...तपाईँको साथी पनि खोजौला अनि घुमौला पनि..हुन्न?’ भन्यो उसले।
चिया खाइसकेर मैले भनेँ-‘लौ मलाई खाने व्यवस्था गरिदेउ खाना खाएर म एकछिन आराम गर्छु, कमलापुर कता पर्छ कसरी जाने तिमी पत्तो लगाइराख बेलुकी कुरा गरौँला’।
कोठामा गएको एकैछिनमा खाना आइहाल्यो, खाना खाइवरी पल्टेको त भुसुक्कै निदाइपठाएछु.....दैलो ढकढकाउँदा मात्रै ब्यूँझिएँ....दैलोमा दिगन्तो रहेछ –‘मलाई थाहा थियो सर तपाईँ थाकेर निदाउनु भयो भनेर...लौ अब हात मुख धुनु होस् म चिया-खाजा पठाइदिन्छु...त्यसपछि एकछिन बजार घुमेर आएपछि म तपाईँलाई भोलिको कार्यक्रम भनिदिन्छु’- भन्यो उसले।
उसको यो सहयोगी र पत्यारिलो बेहोरा राम्रो लाग्यो मलाई। कमलापुर र पखिलालाई अब भेटनेरहेछु भन्ने कुरोमा पनि मलाई पक्का विस्वास लाग्न थाल्यो। म फ्रेस भई नसक्दै चिया र बिस्कुट आइपुग्यो। खाइवरी म बाहिर निस्केँ।
जोरहाट शहरको एकछिन भ्रमण गरेर म होटेल फर्केँ....झमक्क अँध्यारो भइसकेको थियो।
होटेलमा पुग्नेबित्तिक्कै दिगन्तोले ‘जोरहाट शहरमा त त्यस्तो केही छैन....मौका मिल्यो भने नि सर हामी एकपल्ट शिवसागर जानु पर्छ। शिवसागर असमको एउटा ऐतिहासिक शहर हो, त्यहाँ एउटा ठूलो पोखरी छ -शिवसागर .....त्यसैको छेउमा प्रसिद्ध शिवडौल मन्दिर पनि छ। उहिले अहोम राजवंशले यस्ता अनेकौँ पोखरीहरुको निर्माण गरे। सर यहाँबाट काजिरङ्गा नेशनल पार्क पनि त्यति टाढ़ो छैन,त्यहाँ गैँड़ा हेर्न सकिन्छ।’ भन्यो,मलाई लोभाएर एकदुई पैसा कमाउने दिगन्तोको प्रयास अझ जारी छ तर मेरो मन यी थोकहरुमा छैन भनौँ मेरो प्राथमिकतामा छैन।
होटेलको लबिमा असमीया खबरकागत पढ्दै बसेका एकजना सज्जनले पनि जिब्रो लढ़बढ़ाउँदै असमीया लवजमा थप्यो –‘हो नि सर ! हाम्रो आसाममा तपाईँहरुको दार्जीलिङको जस्तै राम्रो मौसम र दृष्यहरु त छैन तर असम पनि आफ्नो वन-जङ्गल र यहाँका आदिवासी जनजातिको रङ्ग-विरङ्गी संस्कृतिको कारण कम आकर्षक चैँ छैन,आसाम आईपुगेपछि एकपल्ट असमलाई राम्ररी हेरेकै राम्रो।‘
त्यसै त म घुम्नु आएको होइन त्यसमाथि झन जोरहाट आउने त मेरो कुनै योजना नै थिएन...जोरहाट त के गुवाहाटी आउने पनि त्यसो योजना थिएन। यो त परिस्थितिले गर्दा आज म असममा छु, मानिस एकैछिनमा केदेखि के हुँदोरहेछ यो मलाई योपाली पक्का विश्वास भयो। ‘कमलापुर कता रहेछ पत्ता लाग्यो?’ उनीहरुको कुरालाई कुनै महत्त्व नदिँदै मैले सोधेँ।
‘कमलापुर त पत्ता लागेन सर तर यहाँबाट निमाति रोड हुँदै निकै भित्र गयो भने एउटा नेपाली बस्ती छ...त्यहाँ मेरो एउटा साथी छ....उ आज जोरहाट आउँदै छ...उसले भनेको उसको बस्तीदेखि अलिक भित्र एउटा कमलापुर भन्ने गाउँ त छ अरे। उसित तपाईँ जानुहोस् न, मलाई पक्का विश्वास छ त्यो तपाईँले खोज्नु भएको कमलापुर नै हो।‘
मलाई दिगन्तोको कुरा सुनेर अलिक आशा लाग्यो अनि असम र जोरहाट प्रवास खेरो नजाने भान भयो।
दिउँसो ११ बजीतिर दिगन्तोको साथी आइपुग्यो। दिगन्तोले
मसित चिनापर्ची गराइदियो। चिनापर्चीमा हामी त्यसो लामो कुराकानी गरेनौँ, उसले
आफ्नो नाउँ बतायो ‘धनप्रसाद’ र ‘मेरो यहाँ कलेजमा एकछिन् काम छ एकदुइ घण्टा
लाग्छ...तपाईँ भात-सात खाएर रेडी बस्नुहोस्..एकदुइ दिनको निम्ति लुगाफाटा पोको
पार्नुहोला....दुइ बजीतिर हामी हिँड़्ने’-थप्यो उसले।
ठिक्क दुइ बजी हाम्रो बस हिँड़्यो...बसमा पनि हाम्रो त्यसो कुरा भएन।‘यो बस सोझै तिम्रो घर पुग्छ?’ यति सोधेँ मैले।
‘पुग्दैन सर...एकडेढ़ घण्टापछि सिलोनी चारीआली
पुग्छ...त्यहाँबाट हामी अटोरिक्सामा झण्डै आधा घण्टा हिँड़ेपछि बोकापानी
पुग्छौँ...त्यहाँ मेरो मोटरसाइकल छ...झण्डै आधा घण्टापछि हामी नेपालीगाउँ पुग्छौँ’
भन्यो उसले।
बाटोको वृतान्त सुनेर मलाई एकछिन त रिङ्गटा चल्यो....हिसाप लाएँ पाँच बजीभन्दा पहिला नपुगिने रहेछ। यति समय त हाम्रो पहाड़मा कतै हिँडेरै जाँदा पनि लाग्दैन – सोंचेँ।‘अन्त मेरो होटेल?’ मैले फेरि सोधेँ।
‘दिगन्तोलाई थाहा छ सर सुर्ताउनु पर्दैन....हजुरको समान राखिदिन्छ..तपाईँ जति दिन मसित हुनुहुन्छ होटेल पर्दैन...आएपछि फेरि होटेल भइहाल्छ’ भन्यो उसले।
मलाई ढुक्क लाग्यो। सड़क राम्रै रहेछ-पक्की...आँखा चिम्म गरेर सोँचमा ढुबेँ म । पहाड़को स्थिति कहिले सामान्य हुने हो....दिन्हौँ स्थितिले नयाँ मोड़ लिंदैछ....चिन्ता पनि लाग्छ।
सिलोनी चारीआलीबाट बोकापानीको बाटो भने कम्मर भचाउने खालको रहेछ.....अटोरिक्सामा च्याप्टिएर बढ़ो कष्ट पाएर पुगियो...त्यसपछि धनप्रसादको मोटरसाइकलमा गरिएको यात्राको वृतान्त त सार्वजनिक नगरेकै राम्रो। हन यस्तो ठाममा मानिसहरु कसरी बस्छन् होला कसरी मात्र होइन किन बस्छन् जस्तो लाग्यो मलाई.....पखिलाको कमलापुर यदि छ भने अझै टाढ़ा छ भन्छ झन् त्यहाँ पुग्ने बाटो कस्तो होला? मेरो दिमागले सोच्नै भ्याएन। किन आएँ जस्तो पनि लाग्यो मलाई। धनप्रसादको घर पुग्दा झमक्कै अँध्यारो भैसकेको थियो। बूढ़ा बाउले हामीलाई देख्नासाथ भने –‘आउनुभो नानी!!! दु:ख त निकै भयो होला?’ दु:खको वर्णन त गरेर साध्यै थिएन तर दुख पाएँ भन्नु पनि नमिल्ने र ‘होइन त्यस्तो दुख त पाइनँ तर बाटो त अप्ठ्यारै रहेछ!’-भनेँ।
‘लौ हजुर हात मुख धुएर आउनोस् बसेर कुरा गरौँला।‘
म हात-मुख धुएर पुगुञ्जेल बूढ़ाले कुर्सी मिलाएर बसेर गफ
गर्ने चाँजो मिलाई सकेका रहेछन्।‘लौ नानी बस्नोस्...हजुर रहेछ दार्जीलिङको....अब
गोर्खाल्याण्डको कुरा गरौँ न!’
बूढ़ाको घर हेरेँ...काठको पुरानो ढाँचाको....नेपाली
परम्पराको घर.....बरण्डामा देशका ठूल्ठूला नेताहरुका फ्रेम हालेका फोटोसित नेपाली
साहित्यकारहरुको पनि फोटो। त्यही फोटोको माझमा हामी बसेका छौँ। सोलर लाइटको
उज्यालो..... आँगनमा मोटरसाइकल, साइकल र ट्रेक्टर...बूढ़ा निकै बनिएर बसेका
रहेछ्न्....बूढाका को-को होलान् चिनापर्ची गर्ने समय पनि पाइनँ। तरै पनि मैले अनकनिँदै
सोधेँ-‘ घरमा तपाईँको को को छन्?’
‘नानी म, मेरो छोरो, एउटी छोरी र बूढ़िया यति मात्रै छौँ....यी एकदुईजना गाउँका केटाहरु खेतमा सघाउन यहीँ बस्छन्।‘
‘यहाँ बसेको त निकै भयो होला?’ फेरि सोधेँ मैले।
‘खै नानी हाम्लाई त याद छैन....यहीँ हुर्केका हौँ....बाउ असम पुलिसमा नौकरी गर्थे.....सब-इन्स्पेक्टर पोस्टमा रिटायर्ड भएर बाउ यहीँ खेतिपातीमा लागेका हुन बाउपछि म पनि यहीँ खेतीपातीमै व्यस्त छु नानी!’ एकछिन् खुइँय्य सास तानेपछि बूढ़ाले थपे- ‘तातो चिसो केही खानुहुन्छ?...दूध-दही?कि लाउपानी खानुहुन्छ?हुन त यो बाहुनको घर हो तर बाउ पुलिसमा भएको कारण हामी सप्पै खान्छौँ...घरगृहस्थीपछि कति थोक घरमा चल्दैन तर बेला-बेला लाउपानी भने चलाइन्छ...विशेष पाहुनापात आउँदा!!’
‘लाउपानी ?’ कस्तो पानी होला मलाई अचम्म लाग्यो।
‘नानी लाउपानी भनेको जाँड़ हो नि.....खाउँ न...!’ चञ्चले भाषामा बूढ़ोले भने अनि थपे-‘लाउपानी र जाँड़ एउटै हो नानी बस तार्ने तरिका मात्रै एलिकता भिन्नै हुन्छ.....आज म हजुरलाई असमको तरकारी पनि खुवाउन्छु..हजुर आउनुहुन्छ भनेर मैले स्पेशल बनाउनु लगाएको।’भन्दै अर्कोतिर फर्केर बूढ़ो चिच्याए-‘ऐ त्यो कुखुराको शिकार पनि ले !!!’
काम गर्ने केटोले काँसको बटुकोमा जाँड़ र काँसकै बटुकोमा
कुख्राको तिहुन लाइदियो।
‘लौ नानी यो कुखुराको शिकार चैँ खारमा पकाएको हो। खार चै असमियाहरुको पारम्पारिक पकवान हो। लाउपानी चैँ हाम्रो जाँड़ जस्तै लागे तापनि खारको चैँ त्यस्तो भिन्नै स्वाद पाइन....अलि नुनिलो..टर्रो-टर्रो लाग्यो।‘कलको गुदी वा पत्तालाई पोलेर बनिएको खरानी खार मिसाएको हो यो कुख्राको शिकारमा नानी....खार चै थरी-थरीका हुन्छन.....।’
बूढ़ोलाई लाउपानीको मात लाग्दै गएपछि श्वर निकै ठूल्ठूल्लो अनि सेन्टी बन्दै गएको आभास भयो मलाई। मलाई पनि लाउपानीले असर गर्न थाल्दै थियो....सबै बाङ्गो-टेढ़ो देख्न थाल्दै थिएँ। ‘उहिले त कहाँ टेर्थे र म...हुन त आसामले हामीलाई मान-सम्मान सबै दियो...हामी असमिया नै भयौँ.....आज आफ्नोभन्दा असमिया संस्कृति र संस्कार हामीलाई राम्रो लाग्छ, माया लाग्छ....तर आफ्नो संस्कृति र परम्परा पनि बिर्सिएको छैनौँ हामीले।’ बूढ़ोको अवाज निकै लड़बड़िदै थियो-‘पौराणिककालदेखि हामी आसाममा भएको इतिहास छ र पनि हामी खिलञ्जिया भएनौ, कहिले भएनौँ.....नयाँ पुस्ताले त कहिले-काहीँ हामीलाई विदेशी भन्दा साह्रै चित्त दुख्छ नानी, साह्रै दुख्छ.....तर विदेशी हटाउ आन्दोलनको ताका मैले मेरो सिरुपाते खुकुरी निकालेर खेदाएको छु....त्यसपछि मात्रै पो शान्तीले बस्नु पाएको....नानी हाम्रो पनि आफ्नो छुट्टै राज्य चैँ हुनै पर्छ....दार्जीलिङ पहाड़ले अब राज्य प्राप्तिको निम्ति इमान्दारीपूर्वक काम गर्नु पर्छ।’ बूढ़ोको आवाजमा निकै पीर लुकेको थियो....अदृश्य पीड़ा।
‘अब रातभरि त्यै खाने हो कि भात पनि खाने....राति दस बजी यो सोलारको लाइट पनि सकिन्छ!’-पाकघरबाट बजै कराइन। मलाई अलिक अप्ठ्यारो लाग्यो।
भात खाइवरी सुत्दा झण्डै एघाह्र बजेको थियो सोलार लाइट झ्याप्प गयो....ढिब्रीमा रात बिताउनु पर्यो।
एका-बिहानै बजै उठेर बाहिर साफ-सफाइ गर्दै थिइन् –‘नानी निद्रा त राम्रै लाग्यो होला? कि नयाँ ठाउँमा राम्रो लागेन?’
‘रामै लाग्यो नि आमै- तपाईँले पो दुख पाउनु भयो’-भनेँ।
‘केको दुख नानी कहिले त बीस-पच्चीसजनाको हूल हुन्छ....गाउँ-घरको सबै यहीँ थुप्रिन्छन्’-भनिन् बजैले।
‘आमै तपाईँहरुको छोरी पनि छ’रे तर यहाँ त देख्दिनँ?’-सोधेँ मैले।
‘त्यो जोरहाटको जेबी कलेजमा पढ़दैछ.....बिएस्सी फाइनल इयरमा छ नानी! छोरोले त्यही कलेजबाट मास्टर गरेको अब पीएचडी गर्छु भन्दै छ!’
कुरा गराइ अनुसार त बजै पनि निकै पढ़ेकी जस्तै लाग्यो र सोधेँ ‘तपाईँ नि?’
‘खै नानी हाम्रो जमानामा त पढ़्नु यति सजिलो थिएन, हाइ स्कुल सकिने-सकिने बेला लगन जुरेर घर-जम गरिहालियो, मेरो पनि जेबी कलेज पढने त इच्छा थियो नि !!’ भनिन् बजैले।
त्यो नपत्यारिलो धनप्रसादको पढ़ाइ सुनेर नै मलाई कुरी-कुरी लागेको थियो झन् छोरीको पढ़ाइको कुरा सुनेर त अझै पढ़ाइको कुरा गरे आफ्नै पोल खोलिने डर लाग्यो र पढ़ाइको विषयमा अब कुरा बेसी बढ़ाउनु मलाई उचित लागेन र चुप्प लागेर बसेँ।
‘अन्त नानीको कुनै साथी छ’रे नि?’ बजैले नै सोधिन्।
‘हजुर उहिले गुवाहाटीमा भेटेको.....!’ मात्रै भनेँ मैले।
‘कमलापुरको अरे नि..?’
’हजुर आमै....पखिला नाम हो!’ मैले भनेँ।
‘पखिला?’
’हजुर..पखिला..!’
‘पखिला?...पखिला कलिता?’
‘खै आमै त्यो त मलाई थाहा छैन...मलाई उसले के पखिला भने
जस्तो लागेन, भन्यो भने पनि अहिले याद छैन!’ - मैले भनेँ।
त्यही बेला बूढ़ो आङ् तान्दै बाहिर निस्किए।
‘ओ बूढ़ो चै...यो नानीको साथी त त्यो हरिन्द्र कलिताकी छोरी त होइन....त्यसको छोरीको नाम पनि मलाई त पखिला जस्तै लाग्छ!’ बजैले बूढ़ोतिर फर्केर भनिन्।
‘खै हुनसक्छ....अहिले धनेसित गएर पत्तो लगाउँछ नि!’ बूढ़ोले भने।’
‘त्यै पखिला हो भने त नानी...त्यो त मेरो साथीको छोरी हो
नि! मेरो माइती पनि त्यतै हो नि.....तर !!!!!’ बजैले तर भन्दा म झसङ्ग भएँ, अब
पत्तो लागिसकेको फेरि के हुने हो र छिटो-छिटो सोधेँ ‘तर के आमै?’
‘तिनीहरुको गाउँमा त बान-पानी पो आएको होला!!’
’बान-पानी?’-अचम्म हुने पालो मेरो आयो।
‘हजुर नानी बान-पानी...तिनीहरुको गाउँ ब्रह्मपुत्र नदीको छेवैमा पर्छ र प्रत्येक वर्ष नै त्यो गाउँ ढुब्छ।’
ए..बान-पानी अर्थात बाढ़ी.....ला अब पखिला त्यै हो भने र उसको घर साँच्चै बाढ़ीमा ढुबेको छ भने उसलाई भेटिन्छ कि भेटिदैन होला...यत्रो नजीकै पुगेर मलाई त झन चिन्ता पो लाग्यो।
‘अब बित्थाको कुरो गर्छ यो बूढ़ियाले पनि....अहिले खाना
खाइवरी धने र तिमी निस्किहाल्नु सबै थाहा भइहाल्छ’-बूढ़ोले स्थितिलाई सहज बनाउने
प्रयास गरे।
दिउँसो खाना खाइवरी म र धनप्रसाद साइकिल निकालेर पखिलाको घर हुने दिशातिर लाग्यौँ- धनप्रसादले साइकिल कुदायो म पछाड़ि सीटमा बसेँ। निकै अगाड़ि पुगेपछि बाटामा अर्को दिशाबाट साइकिलमा आउँदै गरेको एकजना मानिस भेट्यौँ....असमियामा धनप्रसाद भाइले उसलाई कुन्नि के सोध्यो दुवैजनाले साइकिल रोके। फेरि धनप्रसाद भाइले पखिला भन्दै केही सोध्यो..उसले जवाफमा पखिला बानपानी भन्दै हातले एउटा दिशातिर इङ्गित गरेको बुझेँ।
‘ओहो सर...पखिलाको गाउँ घर त सबै डुबेको छ’रे....उनीहरु पर प्राइमेरी स्कूलको शिविरमा पो छ’रे!’- धनप्रसादले मतिर मुण्टो फर्काएर भन्यो।
मैले भनेँ-‘ए ! ला...त्यसो भए त्यै स्कूलमा जाने हामी!’
त्यो अर्को मान्छेसित विदा मागिवरी हामी फेरि अगाड़ि बढ़्यौँ....अलिक अगाड़ि पुगेपछि मूल सड़क छाड़ेर हामी देब्रेतिर लाग्यौँ। अप्ठ्यारो हिले बाटोमा साइकिलको पछाड़ि बसेर मलाई पखिलाको याद आयो.....साँच्चै त्यही पखिला होली र ? मलाई शङ्का लाग्नथाल्यो....त्यस्तो जुझारू , सङ्घर्षशील केटी यस्तो दयनीय स्थितिमा कहाँ बस्छे र! हुन त समयले मान्छेलाई के गर्नु बाध्य गर्दैन र !! तरै पनि पखिला...यस्तो ठाउँमा...मेरो मनको एउटा कुनाले पनि मान्न चाहेन....त्यसबेला मलाई पखिलाले भनेकी थिई –‘हैट...जाबो एउटा कमिलाले त अन्तिम समयसम्म हार मान्दैन...लड़िबस्छ भने हामी त मान्छे हौँ नि..कसरी हार मान्ने, यो जिन्दगी उसैको हो जो अन्तिम समयसम्म सङ्घर्ष गरिबस्छ....हार मान्नेहरुको निम्ति यो जिन्दगी होइन।’ अन्त मलाई उसले भुपेन हाजरिकाको गीत गाउन सक्छौ भनेर च्यालेञ्ज गरेकी थिई....भुपेन हाजरिका....आज पखिला भेटेको भए गाइदिन्थे – ‘विस्तिर्ण पाररे, असङ्ख्य जनरे, हाहाकार सुनिउ, निशब्द निरबे बूढ़ा लुइत तुमी, बूढ़ा लुइत बुवाँ किय!’
सोचको एकाग्रतामा सुनसान जङ्गलको बाटोमा साइकिलको पछाड़ि अनायसै गीत गुनगुनाउँदौ-गुनगुनाउँदै मेरो मुखबाट ठूलो आवाजमा गीत निस्केछ।‘सरले त भुपेन दाको गीत पो गाउनु भो’-धनप्रसादले भन्दा पो म झसङ्ग भएँ, मलाई कुरी-कुरी पनि लाग्यो। धनप्रसादले नै कुरा अगाड़ि बढ़ायो –‘आसाममा भुपेन दाको खुनै इज्जत छ...प्रत्येक घरमा उसको फोटोलाई इज्जतपूर्वक राखिएको पाउनुहुन्छ....अहिले गोर्खाल्याण्डको आन्दोलनमा नेपालीमा अनुदित यो गीत थुप्रै सङ्घर्षरत जातिको भाषामा अनुदित भएको छ – विस्तिर्ण पाररे, अहङ्ख्य जनरे, हाहाकार हुनिउ, निहब्दे निरबे, बूढ़ा लुइत तुमि, बूढ़ा लुइत बुवा किया.....बूढ़ा लुइत भनेको ब्रह्मपुत्र नदी हो...ब्रह्मपुत्रले हामी आसामेलाई जीवन दिएको पनि छ अनि जीवन लिएको पनि छ...।’ मलाई लाग्यो कति आस्था छ बूढ़ा लुइतमाथि, कति आस्था छ भुपेन हाजरिका जस्ता आफ्ना धरोहरमाथि...हामीले पो हाम्रा धरोहरहरूलाई चिन्न सकेनौँ। त्यही समाजकी एकजना वीरङ्गना पखिला...जसले मेरो जीवनमा अमिट छाप छोड़ेकी छे। थाहा छैन दस-एघाह्र वर्षपछि भेटदा पखिलाले मलाई चिन्छ कि चिन्दैन होला, चिनिन भने भुपेन हाजरिकाको गीत गाएर सुनाइदिनेछु कि त तामुलको आथित्य सत्कार माग्ने छु....चिन्नु त मैले पनि चिन्छु कि चिन्दिन होला...यत्रो वर्षपछि त उ पनि त अर्कै-अर्कै भइहोली...मोटी भइहोली कि दुब्ली...अथवा!!???? एक तमासको उकुसमुकुस भयो मन.....तर यत्रो यात्रापछि उ त्यही पखिला होइन भने......जसो जसो हामी अझ अनकण्टारभित्र पस्दै गयौँ त्यसो त्यसो मेरो मनले पनि उही पखिला हो भन्ने तथ्य मान्न छोड़्न लाग्यो...तरै पनि एकपल्ट भेटेर मनलाई सन्तोष दिने अभिप्रायले म धनप्रसादसित अगाड़ि बढ़िरहेँ।‘तिम्रो हातमा बारुद होइन आसामको युवाहरुको भविष्य देख्न चाहन्छु भनेको थिएँ’- आज मेरो आफ्नै हातमा बारुद गन्ह्याएको छ...कहिले-काहीँ हातमा बारुद आफै गन्हाउँदैन रहेछ...परिस्थिति र राजनीतिको चक्रव्युहले बारुद दलिदिने रहेछ- यो कुरा आफुलाई पर्दा बल्ल चाल पाइयो। १६-जुन दार्जीलिङमा गोर्खाल्याण्ड समर्थकहरुको विराट जुलुस र पुलिसमाथि जम्का सङ्घर्ष हुँदा मेरो छेवैको भाइ अय्या भनेर भुइँमा लडेको थियो...पछि चाल पाए उसलाई गोली लागेको रहेछ....अर्को दिन पुलिसले मलाई खोज्दै छ भन्ने सुनेँ...त्यो रात मैले जङ्गलमै बिताएँ। मैले कसैतिर एउटा ढुङ्गा धरि हानेको थिइनँ....अँ! त्यो जुलुसमा म थिएँ एउटा गोर्खाल्याण्ड प्रेमीको नाताले...अहिंसक कुनै हतियार बिना। अर्को दिन स्थानीय खबरकागतमा छापियो – सरकारी गाड़ीमा आगो लगाउने र हिंसा फिजाउने आरोपमा पुलिसले मलाई पनि खोज्दै छ’रे। अब जे भयो भयो अन्तिम समयसम्म गोर्खाल्याण्डको निम्ति म लड़ने छु भन्ने मैले प्रण गरेँ....तर घरका बाबा-आमा र साखा-सन्तानको ढिपीमा अन्तमा पहाड़को स्थिति सामान्य नभइञ्जेलसम्म पहाड़देखि मलाई बाहिरिनु कर लाग्यो र म गुवाहाटी लागेँ। म यता गुवाहाटीतिर भए पनि मेरो मन उता पहाड़मै छ। राजनैतिक शक्तिक्लेशको चक्रव्यूहमा फँसेर हामी जस्ता सोझा र सरल आम मनिसहरूको हातमा एकै दिनमा बारुद गन्हाउँदो रहेछ। पखिलाको हातमा बारुद गन्हाएको आज मलाई अचम्म लागेन। यदि यही ठाउँका रैथाने भएर यसरी अनकण्टारमा मूलभूत सुविधाबिना रिफ्युजी जस्तै बस्नु परे कसको हातमा बारुद गन्हाउँदैन र....क्षण-भङ्गुरको यो जीवनमा पनि यत्रो त्रासदी। आफ्नै ठाउँमा बोल्नु मात्र होइन सुखले बाँच्नु पनि कति साह्रो !!! आफै पीड़ित अब अरूलाई के भन्नु...यहाँ आफै त केही नगरी आतङ्कवादी भइने चिन्ता छ.....राजनीतिको भुमरीले जन्माएको क्रुर लट्ठिको प्रहारले कुनै सोझा जनता बाँचेको छैन....सबै ठाउँ यस्तै हुन्छ कि...पहिले-पहिले त राजा-बादशाहको शासनमा मात्रै यस्तो हुन्छ भन्ने सुनेको थिएँ...सभ्य गणतन्त्रमा पनि जनताको आवाज र आकांक्षाको कुनै महत्व हुँदैन रहेछ....जीवनमा आखिरी एकपल्ट त मर्नु नै छ र सङ्घर्ष गरेरै मर्न कति उचित ठान्छन्, आफुले भने त्यसो गर्न पनि सकिएनँ।
‘सर ! बानपानी पीडितहरुको शिविर आइपुग्यो!’ धनप्रसादले भन्दा म झसङ्ग भएँ।
स्यानो प्राथमिक पाठशाला.....चारैतिर दुराव्यवस्था
.....एउटा कक्षा कोठामा अनेकौँ परिवार। देखेर मन नै खिन्न भयो। पखिला....आसामकी
एउटी लड़ाकु ठिटी......पक्षपाती व्यवस्थाको विरोधमा उभिने....सङ्घर्ष
गर्ने.....पखिला यस्तो दयनीय र लाचार अवस्था बस्न सक्छे...अब त झन मेरो एउटा
चित्तले पनि स्वीकार्न मानेन......यहाँ जुन पखिला छे त्यो पक्कै मैले भेटेको र
चिनेको पखिला नहुनु पर्ने । धनप्रसादले स्थानीय भाषामा पखिला बारे सोद्धै
थिए....अन्तमा उ मतिर मुखतिर भएर भन्यो –‘सर ! यहाँ पखिलाका लोग्ने
हुनुहुन्छ......परेश!’
मेरो मुटु ढुकढुक भयो, मैले नमस्ते गरेँ र भनेँ –
‘पखिलाको पुरानो साथी हूँ भेट्न आएको!!!’।
उसले के भन्यो मैले बुझिनँ, धनप्रसादले सम्झायो –‘पखिला
पानी लिनु गएको छ रे’।
पखिलाका लोग्नेले इशाराले बस्नु भनेको काठको टूलमा म
बसेँ।
पखिलाको लोग्नेले असमियामा के भन्यो मैले राम्ररी बुझिनँ
तर धनप्रसादले सम्झायो-‘सर तपाईँले पखिलालाई कसरी चिन्नु भएको’रे?’
‘मैले उहिले नै गुवाहाटीमा पखिलालाई भेटेको
थिएँ....त्यतिबेला चिनेको.....!’
‘ए पखिलाले त मलाई कहिले भनेन!’- परेशले शंका जाहेर गर्यो।
बड़ो दयनीय स्थिति थियो त्यहाँ....अनैकौ परिवार....ससाना कक्षा कोठामा थुप्रै परिवार.....पकाउने चाहिँ बाहिरै खुला आँगनमा......पखिला जस्तो बहादुर केटीले यस्तो लाचार र दयनीय स्थीतिलाई स्वीकार्छ भन्ने कुरामा मलाई विश्वास नै भइरहेको थिएन! यस्तो दुरावस्थामा पखिलालाई देखेँ भने अवश्यै मेरो मन दुख्ने छ तर यत्रो टाढ़ा आएर पखिलालाई नभेट्दा पनि त मन दुख्ने छ।
तामुल-पान खाएर परेशको मुख रातै भएको थियो.... ‘अब एक-दुइ दिनमा त हामी पनि घर जानु सक्छौं होला, आफ्नै ठाउँमा पनि हामी रिफ्युजी भएर बस्नु परेकोछ!’-असमियामा भन्यो उसले; धनप्रसादले सम्झायो मलाई । तर असमियामा भन्दा उसको हाउभाउ र कतिपय शब्दले गर्दा मैले पनि उसले के भनेको अलि-अलि ठिम्याउनु सकेको थिएँ।
एक्कासी परेशले मेरो ढाड़ भएको बाटोतिर हेरेर औलाउँदै –‘उ पखिला आइपुग्यो!!’ भन्दै अलिक उभिएको जस्तै गर्दै उत्तेजित भएर चिच्यायो- ‘पखिला तुमार पुरनि बन्धु तुमाक लग करिबलौ आहिसे !’
मेरो मुटु अघिभन्दा अझ जोड़ले ढुकढुक भयो, आँखा चिम्म गरेँ, दुइ हात जोड़ेँ अनि मनलाई कठोर बनाएर ‘प्रभु यो मेरी पखिला नहोस्’ भन्दै पहिलो पल्ट मनमनै भगवानलाई प्रार्थना गरेँ। मेरो शरीर सुन्न भयो अनि घाँटीमा ऐंठन परे जस्तो भयो र जति प्रयास गर्दा पनि मैले आफ्नो मुण्टो पखिला भएतिर पछाड़ि घुमाउन सक्दै सकिनँ......पटक्कै सकिनँ।
टिस्टा तिमी, टिस्टा बग्छौ किन – असहाय र कमजोर नागरिकको क्रन्दन नसुनी नि:शब्द चुपचाप बगिरहने टिस्टा र बुढ़ा लुइतसितै मेरा आँखाबाट पनि आँसुको धारा बग्न थाल्यो - अविरल।

No comments:
Post a Comment