तँ त कत्ति लाटी

कुरा त्यति ठुलो होइन तर आजसम्म मलाई झल्झल्ती याद छ, हर्षले गदगद भएकी रूपाको त्यो हँसिलो अनुहार।

+                  +                 +           

हुन पनि रूपा त्यो दिन अत्यन्तै खुशी थिई। पहिले त अत्तालिएकी रूपासित शहरको व्यस्त बजारमै स्थित पल्लवी जैनको काँचको पारदर्शी कार्यालयभित्र पस्दा मलाई अप्ठ्यारो लागेको थियो। आजसम्म म कहिले बजारस्थित यस्ता कार्यालयहरुभित्र पसेकी थिईनँ। त्यसो त म शहरमै हुर्केँ, पढ़ेँ, जागिरे भएँ अनि यी भवनहरू पनि बनिएको देखेँ तर भित्र पस्न कहिले जरुरी परेन। त्यो दिन रूपाको कारणले भित्र पस्नुपर्दा मलाई किन हो किन एक क्षण त कुरीकुरी लागेको थियो। कार्यालयको काँचको गह्रुँ दैलो ठेल्दै रूपाले मेरो पाखुरा च्याप्प पक्रेर तान्दै भनेकी थिई,”छ्या ! तँ त कत्ति लाटी छेस् हो ।निलो रङ्गको टाइल्स भएको भुइँ, गुलाबी भित्ता र त्यस्तै आकर्षक रङ्गको छाना, त्यसमा ससाना टिमटिम गर्ने बत्ती – त्यो कोठाभित्र पस्दा त्यसको रङ्गीचङ्गीले म तिरीमिरी भएको थिएँ। भित्र अझ एउटा फुलबुट्टा डिजाइन्स्  भएको काँचको पार्टिसन थियो। बाहिरपट्टि रङ्गिन टेबलसामु रिभोल्विङ कुर्सीमा बसेर कम्प्युटरमा व्यस्त रहेकी युवतीले हामीलाई ......... हामीलाई होइन रूपालाई देख्नेबित्तिक्कै कम्प्युटरको ! स्क्रीनबाट नजर हटाई अनुहार हँसिलो पारेर भनेकी थिई, “प्लिज गो ईन् म्याडम इज वेटिङ्ग फर यू।

तँ यैँ बस !” मलाई अह्राएर रूपा भित्र पसेकी थिई ।

रूपा र मेरा चिनापर्ची कहिलेदेखि हो मलाई हेक्का छैन......बा बा ब्ल्याक सिप... नर्सरी रायम्स हामीले सङ्गै सिकाके थियौँ। भनिन्थ्यो उनीहरूको गाउँमा थुप्रै जमीन छ अरे। खेतीपाती र साग-सब्जीको उब्जनीले खानु र लाउनु सजिलै पुग्छ अरे। हुन त म आजपर्यन्त कहिले उसको गाउँ गएकी छुइनँ । शहरको घर भाड़ा गरेर छोरीको शिक्षाको निम्ति आमा बस्थी। रहन-सहन र उनीहरुको ठाँट-बाँट्ले आयस्ता रामै हुने देखिन्थ्यो।

ग्रेजुएसनको अन्त-अन्ततिर एक दिन उसको बाउसित मेरो भेट भएको थियो। ग्रेजुएसनपछि रूपालाई के गराउने सोद्दा, बुढ़ो बाऊले लामो सुस्केरा तानेर भनेका थिए, "पहिलेको जस्तै जमाना रहेन नानी....अब पाखुरामा खेतीपाती गर्ने ताकत पनि छैन अनि जमीन पनि पहिलेजस्तै मलिलो रहेन.....हिजआज भनेजस्तो उब्जनी हुँदैन। जसोतसो यति पार लगाउन सकिएला त्यसपछि त गाह्रै छ।

कुरो सोझो थियो तर ग्रेजुएसनपछि त रूपा स्वयंले पनि केही गर्नसक्ने क्षमता जुरिन्थ्यो। पढ़नमा खासै तीक्ष्ण नभए पनि त्यति गैबर पनि थिइन उ। केही गरेर जीवन धान्न सक्ने प्रतिभा थियो उसमा – चुल्बुली, आत्मविश्वासी र फर्स्याइली।

अरे यार ! व्हाई टु वरी... बाउ-बाजेको त्यत्रो जमीन छ .. बूढ़ोहरु पुरानै ढाँचाले खेतीपाती गर्छकाम नपाए के सुर्ता... म खेतीपाती गर्छु... नयाँ पाराले, नयाँ टेक्नोलजी लगाएर.. तँ हेरिबस न आई विल डु समथिङ न्यू एण्ड वन्डर.. जीवन नाथे सजिलै चलिहाल्छ्।” बाउले भनेको कुरो उसित गर्दा उसले मलाई यसो भनेकी थिई।

जिन्दगी यति सजिलो पनि छैन नि!मैले उसलाई सम्झाउने प्रयास गरेकी थिई।

तँ त कत्ति लाटी छेस् हो !” उसले आफ्नो श्रेष्ठता देखाएकी थिई मलाई।

रूपाले भनेको जस्तै जीवन सजिलो भए जिजीविषाको यो सङ्घर्ष रहने थिएन सन्सारमा...जिउने ऊहापोहमा जीवन नचाँहदा-नचाँहदै पनि कहिले-काहीँ आफै जटिल बन्छ...थाहै पाइन्न । थाहा पाउँदा निकै ढिलो भइसकेको हुन्छ जीवनमा।

रूपा सामान्य जीउडालकी भए पनि कसैसित डराउँदिन थिई। कलेजका केटाहरु त उदेखि थुरथुर थिए। असलमा उसले एकपल्ट एउटा केटालाई सबैसामु बेस्सरी झापेकी थिई । त्यसै पनि कलेजकाल, त्योमाथि उन्नाईस-बीस वर्षे जोवन, जुनै केटी पनि त्यो उमेरमा राम्री नै हुन्छे ....रूपा हेर्न त्यति नराम्री पनि थिइन...एउटा केटाले प्रेम इजहार गर्दै रूपालाई चिट्ठी दिएको थियो....चिट्ठी पाएर रूपाको पारा सनक्क चडे़को थियो र कलेजको मुख्य प्रवेशद्वारमै च्याप्प पक्रेर चिच्याइकी थिई, “के भनेर तैँले यो चिट्ठी दिइस...तँलाई लाज लाग्दैन ?”

बिचरा त्यो केटोको अनुहार हेर्नु लायकको भएको थियो...इत्रु मरञ्च्याँसे !

साला ! आइस प्रेम गर्ने...ऐनामा कहिले आफ्नो अनुहार हेरेको छस्, नन्‌सेन्स।भन्दै केटाले दिएको चिट्ठीलाई उसैको अनुहारमा झटारो हानेकी थिई उसले ।

त्यसदिन उसलाई थम्थमाउन हामीलाई निकै साह्रो परेको थियो.. त्यस केटालाई निकै बेरसम्म उसले झक्झकाएपछि पनि उसको चित्त बुझेको थिएन... उ निकै पछिसम्म पनि फत्फताइरहेकी थिई । त्यसको त नि म ….!” कलेज सकेर घर फर्किंदा पनि दाह्रा किटिरहेकी थिई उ ।

भयो त...! छोड़ न अब यो कुरा...मैले सम्झाउने पाराले भनेकी थिएँ ।

तँलाई थाहा छैन यो केटाहरुको बेउराबानी...!उ मत्थर हुने छाँट नै देखिरहेको थिएन ।

कलेज लाइफमा हुन्छ नि यस्तो..!

हुन्छ ...मलाई पनि थाहा छ... तर यो केटाहरुको प्रेम चैँ तँलाई थाहा छैन...!

यो केटाहरुको प्रेम चैँ कस्तो हुन्छ ?” स्थितिलाई सामान्य बनाउन मैले गिज्याउँदै सोधेकी थिएँ ।

दुवै हातले अश्लील क्रिया प्रदर्शन गर्दै उसले भनेकी थिई,-यिनेरको प्रेम भनेको यै हो ।

एक हातले मुख छोपेर म मुसुमुसु हाँसेकी थिएँ ।

अन्त तँ चैँ कैले पनि प्रेम गर्दैनस् त ?”-गिज्याउँदै मैले फेरि सोधेकी थिएँ ।

रिसले स्वाँ...स्वाँ..गर्दै चलिरहेको आफ्नो सासलाई नियन्त्रण गर्दै अनुहारमा हलुङ्गो मुस्कान ल्याउँदै उसले भनेकी थिई,-तँ पनि नि !

भन् न ! प्रेम गर्दैनस् ?”-मैले ढिपी गरेकी थिएँ ।

किन गर्दिनँ र ! डेफिनेटली गर्छु नि !” -उसले सुस्तरी भनेकी थिई ।

यो पाराले त अब गरिस् होला...!

यै पाराले गर्छु..तर यो जाबोहरुको डिक्टेटमा होइन... आफ्नो इच्छाले आफू ले मन पराएकोसित गर्छु..!, उ फेरि रन्फनिएकी थिई ।

आफू ले मन पराएको चैँ कैले आउँछ हँ ?”

आउँछ नि..!

आयो भने तैँले प्रेम गरेको मलाई पनि देखा ल !

छ्या ! त्यो पनि देखाउने हो र .... तँ त कत्ति लाटी छेस् हौ!नारीसुलभ गुण उकहाँ विद्यमान रहेको तथ्य प्रमाण गर्दै लाजले मुन्टो निहुराएर भनेकी थिई उसले।

जबर त यति कि एकपल्ट गर्छु भन्ने काम गरी छाड़्थिई उसले। सिन्सियर्ली कोशिस गर्ने हाम्रो ड्युटी हो...सक्सेस अनसक्सेस हाम्रो हातमा छैन,” भन्थी उ । ग्रेजुएसनपछि उ गाउँ गई...निकै दिनपछि एकपल्ट उसलाई मैले हाटमा भेटेकी थिएँ । मलाई देख्नेबित्तिक्कै उ चिच्याएकी थिई,-अरे यार ! कस्तो छेस् तँ?”

भलाकुसारीपछि मैले सोधेकी थिएँ,-के गर्दैछस् अचेल ?”

के गर्नु र यार उई खेतीपाती गर्दैछु नि !”-कलेजताका भनेको खेतीपाती गर्ने कुरो ठ्ट्टा भनेर मैले बिर्सिसकेकी थिएँ र अचम्भ मान्दै सोधेकी थिएँ,-अबुई तैले त साँच्चै पो खेतीपाती गर्न थालिस्..यत्रो पढे़को त व्यर्थै भयो...खेतीपाती नै गर्नु थियो भने किन यत्रो पढे़को ?”

छ्या यार ! तँ त यत्रो पढे़र पनि अझै लाटी छेस् हौपढ़्नु भनेको नलेज गेन गर्नु हो ...पढे़र कसैको चाकरी नै गर्नुपर्छ भन्ने कै जरुरी छैन । मैले खेतीपातीमा एजुकेशनबाट पाएको सेन्स युज गर्दैछु ।

अन्त त्यो सेन्स काम लाग्दैछ त?” उसित लामो तर्क गर्नु व्यर्थै ठानेर मैले उसको अँमा अँ मिलाउँदै सोधेकी थिएँ ।

काम त लागेको छ कि तर...!

“तर .. के ?”

“तर केर सरकारबाट भनेजस्तो फ्यासिलिटि र हेल्प पाइन्न... कति थोक आफू एक्लै गर्न सकिन्न ...सरकारले मदत गरे सजिलो हुन्थ्यो तर याँ त...” भनेर उसले सुस्केरा तानेकी थिई।“नाच्न जान्दैन आँगन टेढ़ो...आफूले गर्न नसके सरकारलाई दोष लगाउने हाम्रो त बानी भइसकेकोछ ।"

“त्यसो होइन..मैले ट्राई नगरेको होइन ।" मुट्ठी पारेर “ट्राई” शब्दलाई जोड़ दिंदै उसले अलिक झोक्किंदै जवाफ दिएकी थिई ।

“अन्त सरकारी डिपार्टमेन्टहरुतिर गएर भेट्नु नि त।" उसलाई अझ नझोक्याउँदै मैले सोझै सोधेकी थिएँ ।

“डिपार्टतिर त गएँ नि तर....!”

“फेरि तर के ?”

“तर...उई त हो नि भन्नेबित्तिक्कै काँ हुन्छ र ...आई एम डेस्पेरेट!

“धत्‌! कहिले डेस्पेरेट्‌ हुनु हुँदैन....गो एण्ड ट्राई अगेन !” मैले सम्झाएकी थिएँ ।

त्यसपछि निकै दिन हाम्रो भेट भएन...यही अवधिमा मैले एउटा प्राइभेट स्कूलमा पढ़ाउने काम गर्न थालेँ ।

त्यो दिन एक्कासी आई मलाई तान्दै पल्लवी जैनको कार्यालयमा लगी उसले ।

पल्लवी जैनको कार्यालयबाट निस्केर उसले मलाई आफ्नो पासपोर्ट देखाउँदा एकदमै खुशी थिई, “यो मेरो नयाँ जीवनको विसा हो यार...पल्लवी म्यामले सस्तैमा विसा एरेञ्ज गरिदियो, पासपोर्ट बनाउनु पनि उसले मलाई खुब हेल्प गऱ्यो  ....नाउ लाईफ विल बी क्वाएट डिफरेन्ट देन देट अफ भिलेज !” उसको त्यो हँसिलो अनुहार देखेर मलाई केही भन्ने आँट आएन । उ अझै चहकिंदै थपी, “आई विल मेक अ ग्राण्ड लाईफ ईन दुबई यार!”

नयाँ ढाँचाले यहीँ खेतीपाती गरेर वन्डर गर्ने उसको जोस यति छिटो सेलाएछ उसको नयाँ जोस र सपना देखेर मलाई त्यस बेला त्यस्तै लाग्यो। । हुन त समयसित मान्छेको सपना र लक्ष्य पनि परिवर्तन हुन्छ...हिज देखेको सपना आज बगम्फुसे लाग्नसक्छ अनि हिज बगम्फुसे लाग्ने सपना आज उत्कृष्ठ बन्नसक्छ। समय र आवश्यकताको विवशतामा फँसेर आफ्ना सबै थोक परिवर्तन गर्न मान्छे बाध्य बन्छ । यो मानवीय आचरण हो र उसको कुरा सुनेर मलाई त्यति आश्चर्य लागेन । अँ एउटी मिल्ने साथी यति टाढ़ा नौलो ठाउँमा जाने तथ्यले मलाई अलिक चिन्ता लाग्यो ।

“म त्यहाँ इस्टाब्लिस भएपछि तँ पनि आइज ल !” मेरो चिन्ताबाट अनभिज्ञ उसले मलाई आफ्नो भावी योजना सुनाई।

“किन ? हामी दुबई, सिङ्गापुर, हङकङ जानैपर्छ? यतै केही गर्ने कोसिस गर्दा हुँदैन?” मैले भन्ने आँट गरेँ ।

मेरो भनाईले उसलाई केही प्रभाव पारेन, उसले अझ जोड़ दिएर भनी, “जाँदा के हुन्छ र ? व्हाट प्रबलेम? बाहिर कमाएर याँ ल्याउँदा याँकै इकोनमी त राम्रो हुने हो !..डोन्ट बि इमोसनल ..बि प्राक्टिकल !”

उसको इमोसनल र प्राक्टिकल मैले बुझ्न सकिन त्यसदिन ।

“फेरि भएन..बाउ-बाजेले कमाएको त्यो जमीनको टुक्रा बेचेर त्याँ जाँदैछु, त्यो जमीन उकास्नु नसके पनि त्यति नै कमाएर ल्याउनु त पऱ्यो।" उसको यो अन्तिम वाक्यले मेरो मनमा गतिलो आँधी-बेहरी नै गयो..तर रूपाले चाल पाईन, कसैले पनि चाल पाएन ।

समयको प्रवाहलाई कसले रोक्न सक्छ र.....निर्बाध र निस्फिक्री त्यो त आफ्नै गतिमा अगाड़ि बढ़िरहन्छ कसैलाई नपर्खी ।

निकै दिनपछि एक दिन मैले रूपाबाट एउटा चिट्ठी पाएँ.. चिट्ठीमा उसले दुबईको रमझमबारे लेखेकी थिई,”यार !...दुबईको त कुरै भिन्नै छ....एभेरिथिङ्ग सो डिफरेन्ट हियर...चिल्लो सड़क, सफा बजार, ब्युटिफूल बिल्डिङ्ग्स ...राति त झन दुबईको झिलिमिलि देखेर आँखा नै तिरिमिरि हुन्छ..अहिले नौकरीको चाँजो मिलेको छैन...म्यानपावर एजेन्सीमा सधैँ जानुपर्छ...नौकरी पाएपछि मज्जाले दुबईमा अलिक दिन मौज गर्ने विचार छ.. पर्सिएन गल्फमा गएर घण्टौँ सो बिग-बिग सिप हेर्छु...यार! मान्छे भएपछि एकपल्ट त फोरेन आउनु नै पर्दोरहेछ। राइट नाउ आई हेभ नो परमानेन्ट अड्रेस एण्ड कन्ट्याक्ट.. अड्रेस फिक्स हुनेबित्तिक्कै तँलाई पठाइदिनेछु।"

बेलुकीपख आकाशलाई चिट्ठीको वृतान्त सुनाउँदै मैले सोधेकी थिएँ, "आकाश साँच्चै फोरेन यति एट्र्याक्टिभ छ ?”

“होला नि....म गएको छुइनँ !” उसले छोटो जवाफ दिएको थियो ।

“होला नि हैन, हो र त जो पनि फोरेन जान्छ उसले फोरेनको गुणगान गर्छ.. फेरि टिभिमा पनि त फोरेन देखाउँदा कत्ति मज्जाको लाग्छ...रूपाको त मोज हुने भयो !”

“गर्ने र हुनेवालाको निम्ति सबै ठाउँ एट्र्याक्टिभ नै हुन्छ...पैसा भए गाउँमा पनि मौज गर्न सकिन्छ ।"

“त्यसो भए हामी फोरेन नजानु त?” म अलिक राँकिएकी थिएँ ।

“मैले नजानु त काँ भने र...आफ्नो खुशी हो...इच्छा हुने जानसक्छ ।"

“अच्छा ! यदि म फोरेन गएँ भने..?" मैले उसको मन बुझ्नु सोधेकी थिएँ ।

“तिम्रो खुशी हो !” उसले यति भनेको थियो ।

“तिमिलाई कैले रिस उठ्दैन ?” मैले खुट्टा र हात झटार्दै भनेकी थिएँ ।

“किन उठदैन र ..? म पनि त मान्छे हुँ .. मलाई पनि रिस उठछ ।"

“अन्त मैले के-के भन्दा पनि तिमी रिसाउँदैनौ ?.. म चाहन्छु मैले हुने-नहुने भन्दा तिमी रिसाऊ अनि मलाई हकार ।"

“तिमिलाई हकारेको मनपर्छ ?”

“अरुले होइन तिमिले हकारेको मनपर्छ...हकार्दा र गिज्याउँदा आफ्नोपनको आभास दिन्छ...रिलेसनसिपलाई स्ट्रोङ्ग बनाउँछ ।"

मान्छेले आफ्नो रिसलाई कन्ट्रोल गर्न सिक्नुपर्छ...रिसले मान्छेलाई जनावर बनाउँछ ।

“ए! त्यसो भए हामी रिसाउनेहरु चैँ सबै जनावर !”

“तिमीले यसरी दङ्ग्याएको मलाई पनि मन पर्छ !” उसले मुसुमुसु हाँसेर भन्दा रिसाउन बिर्सेर म उसको मायामा चुर्लुम्म डुबेकी थिएँ ।

त्यो चिट्ठीपछि रूपासित फेरि कुनै सम्पर्क भएन...मैले सम्पर्क गर्ने त कुरै थिएन किनभने मसित उसको ठेगाना नै थिएन, उसले पनि कुनै चिट्ठी पठाइन ।

दिन बित्तै गयो ।

क्यालेण्डरका पाताहरु च्यातिंदै गए ।

ऋतुहरु परिवर्तन हुँदै गए ।

निकै दिनपछि रूपाको अर्को चिट्ठी पाएँ, “देखेको जस्तो छैन रहेछ दुबई..कि त मेरो निम्ति मात्र यस्तो हो...तर भनोजस्तो एजेन्सीले वर्ड दिएजस्तो काम पाइएन...सानो काम पाएकोछु...अलि-अलि सेभिङ्ग गर्ने ट्राई गर्दैछु...टिक्न सकिएला जस्तो छैन....कहिले-काहीँ अन्कम्प्रोमाईज सिचुएसनमा पनि काम गर्नुपर्छ ...टु बी फिमल समटाईम बिकम भेरी डिफिकल्ट...ईट ईज नोट ईजी हिइर...पठाउने लाएकको एड्रेस भए पठाउनेछु ।“

चिट्ठीमा खुलस्त केही लेखेकी थिईन..अस्पष्ट थियो...राम्ररी नै होली ?....शुरु शुरुको डर र व्यस्थित हुने प्रक्रियाको त्रास मात्रै होला । उसको चिट्ठी पढेर मेरो मन दोधारमा फँसेको थियो...खिन्न भएकी थिएँ म ।

+   +   +

कुरा त्यति ठूलो होईन तर आजसम्म मलाई झल्झल्ती याद छ, हर्षले गद्गद भएकीरूपाको त्यो हँसिलो अनुहार । रूपाको बाऊले आज रूपा बारे बताउँदा उसको त्यो हँसिलो मुहार मेरो आँखाअगाडि झल्झल्ती नाच्यो ।

गोर्खाल्याण्ड आन्दोलनको महाजुलुसमा भाग लिन गाउँको शाखाको टोलीसित आएका रहेछन् बुढ़ा... हाम्रो शिक्षक संस्थाको पनि आजकै दिन जुलुसमा सहभागी हुने पालो छ । भेला हुने ठाउँमा अचानक उनीसित भेट भयो । पहिलेभन्दा शारीरिकरुपले उनी निकै दुर्बल भएछन्।हुन पनि समय पनि त निकै बितिसकेकोछ । शायद अब त आँखा पनि दुर्बल भए होलान र देख्नेबित्तिक्कै मलाई ठिम्याउन सकेनन् । मैलेनै परिचय दिनुपऱ्यो चिच्याउँदै किनभने उनको दुर्बल कानले मेरो स्वर पनि ग्रहण गर्न सकेन र एउटा हातले कानमा प्रखाल बनाउँदै अनि अर्को हातले चस्मा मिलाउँदै उनले मलाई ठिम्याउने कोशिस गरे ।

“रूपाको के खबर छ बाबा ?” अरु कुनै कुरो गर्नअघि मैले सोधेँ।

“खै नानी ! रूपाको त क्यै खबर नै पो छैन त...नानीलाई पो बरु खबर होला सोचेका थियौँ हामीले त र सोध्न आउने विचार थियो ।" बुढ़ोको आवाजमा स्पष्ट लाचारी झल्किंदै थियो ।

मैले फेरि सोधेँ,-"अन्त पैसा-चिट्ठी पठाउदैन ?”

“पैला-पैला त आउँथ्यो नानी, निकै भयो क्यै पठाएको छैन...पैला त मान्छेहरुले छोरी दुबई गयो बुढ़ोको अब मौज हुने भयो भन्थे, खै अचेल त गाइँगुइँ क्यै सुनिंदैन...जिउँदै पनि छ कि छैन हामीलाई त क्यै थाह छैन नानी ।"

उनको कुरो सुनेर मलाई त खुला मैदानमै भननन...रिङटा चल्यो...आँखा चिम्म गरेर आफूलाई सम्हाल्ने प्रयास गरेँ।

त्यसै बेला माइकमा महाजुलुस आरम्भ हुने घोषणा भयो, “ जाति,अस्तित्त्व र चिन्हारीको सङ्ग्राममा भेला हुने समस्त गोर्खाल्याण्डप्रेमीलाई यो महाजुलुसमा दुइटा लाइन बनाएर अघि बढिदिने अनुरोध गरिन्छ । हाम्रो सुरक्षित भविष्य र भावी सन्तानको सुरक्षाको निम्ति एउटै विकल्प हो हाम्रो छुट्टै राज्य गोर्खाल्याण्ड...जय गोर्खा।"

“जय गोर्खा!” जनसमुदायको हुङ्कारसितै महाजुलुस आरम्भ भयो ।

बुढा बाउसित अझ कुरा गर्ने मौका नै पाईनँ। आफ्नो डफ्फासित मिसिन गएँ म पनि।

“बङ्गालमा हामी बस्दैनौँ !”

“बङ्गाल हाम्रो चिहान हो !”

“जय गोर्खा ! जय गोर्खाल्याण्ड!”

सुर मिलाउँदै नाराबाजी चलिरहेकोछ तर मेरो मन भने रूपामाथि अल्झेकोछ। साँच्चै उ कस्ती होली.. जिउँदै पनि छे कि .. होइन.. होइन......रूपा त एकदम जियाली.. फाइटिङ् स्प्रिट भएकी..यति छिटो हार मान्ने खालकी कहाँ हो र! तर समय र परिस्थितिले कस्ता-कस्ता बलवानलाई त लाचार बनाइदिन्छ...घुँड़ा टेकाइदिन्छ..! होइन..होइन... यस्तो अनिष्ट सोच्नु हुँदैन रूपा जहाँ पनि होली अलि समस्यामा होली तर पार लाग्छ..छि: मेरो विचार कति नकारात्मक...साँच्चै म त कत्ति लाटी, सोच्दै आफ्नो टाउकोपछाड़ि आफ्नै हातले प्याट्ट हिर्काएर सुरमा सुर मिलाउँदै चिच्याएँ,“जय गोर्खा !जय गोर्खाल्याण्ड !!”

                                                             +     +      +      +

No comments:

Post a Comment