त्यो घुम्तीपछि

 

बाघपुल नाघेर सेवकेश्वरी काली मन्दिरमा गाड़ी पुग्दा मनभित्र कतै कटक्क बिझायो।

जामले गर्दा सड़कमा गाड़ीको ताँत लागेको छ। आज आइतवार......दर्शनको निम्ति सिलगड़ीबाट आएका श्रद्धालुहरुको गाड़ी र घुइँचोले सड़क त्यसै जाम हुन्छ। सिलगड़ीकाहरुले यो ठाउँ पनि बिस्तार-बिस्तार आफ्नो बनाईछाड़्यो... मन्दिरको नाम पनि सेवकेश्वरी अरे! कुनै सहयात्रीले आफ्नो मन्तव्य पोख्यो। मलाई उसको मन्तव्यले कुनै असर पार्न सकेन। मनमा माया र प्रेम लड़ीबडी गरेपछि यस्ता कतिपय कुराहरु तर्कहीन लाग्दोरहेछ.....मान्छेले बनाएका साँध-सीमाना र नियम जम्मै वाहियात लाग्दोरहेछ। हुन त सबै मानिसको एउटै संसार हुँदैन.....आ-आफ्नो बेग्ला-बेग्लै संसार हुन्छ र सबै आ-आफ्ना संसारमा आ-आफ्नै पाराले रमाइरहेका हुन्छन्। यो सेवकेश्वरी मन्दिरले अरुलाई के दियो मलाई थाहा छैन तर मलाई जिन्दगीभरिको निम्ति यसले मीठो सम्झना दिएको छ.......सम्झना दिप्तीको... दिप्ती दासगुप्ता जसलाई मैले एकपल्ट यही मन्दिरमा लिएर आएको थिएँ.....सायद हाम्रो भेटघाटको अन्तिम भेट.... सायद हामी दुवैको यो मन्दिरमा पहिले र अन्तिम भ्रमण। त्यो दिनभन्दा पहिले पनि कालेबुङ र सिलिगड़ी ओहोर-दोहोर गर्दा मैले मन्दिरको यो घुम्ती कैयौंपल्ट नाघेंँ तर मन्दिरमा कहिले त्यस्तो केही खास देखिनँ....दिप्तीलाई मन्दिर दर्शन गराएपछि पनि कैयौं पल्ट यो मन्दिर भएर ओहोर-दोहोर गरेँ तर फेरी एक्लै मन्दिर पस्ने इच्छा जगाउन सकिनँ। जिन्दगीको एउटा सानो घुम्ती नाघेपछि मान्छेको हेराइमा कति फरक पर्दोरहेछ मैले बल्ल चाल पाएँ। हो नि...लौ हेर्नोस् त भीड....आम्बौ- अर्को सहयात्रीले आफ्नो बुद्धिमानीको प्रमाण दियो। मेरा नाङ्गा आँखाले भने त्यो भीड़भित्र उनीहरु जस्तै देखिने दिप्ती पो छ कि खोज्यो...तर गहुँ-वर्ण मिले तापनि चिनेको र चाहेको अनुहार त्यो भीडमा भेटिनँ । गाड़ीभित्रैबाट मैले नजर उचालेर मन्दिरतिर हेरें। माथि मन्दिरको सिँड़ीमा अहिले पनि रातो कुर्ता लगाएर उभिरहेकी दिप्तीको झझल्को आयो मलाई। हुन पनि जतिपल्ट यो मन्दिर भएर ओहोर-दोहोर गर्छु त्यतिपल्ट कतै माथि सिँड़ीमा उभिएर मुसुक्क हाँस्दै दिप्तीले त्यो दिन पर्खेकी जस्तै आज पनि पर्खिरहेकी भान् हुन्छ मलाई । त्यसबेला देब्रे छात्तीमा असहनीय पीड़ा महसुस गर्छु र आँखा रसिनथाल्छ। यो पीड़ा र वेदनाबाट भाग्न निकैपल्ट यो सड़क भएर  यात्रा नगर्ने अठोट पनि गरें मैले तर मसित अर्को विकल्प छैन। विकल्प भए तापनि सायद म यही सड़क भएर नै यात्रा गर्थें होला किन भने दिप्तीको सम्झनाले यति मीठो पीड़ा र वेदना दिन्छ....अर्को यात्रा नगरुञ्जेलसम्म त्यो सम्झनाले मलाई जिउने र केही गर्ने प्रेरणा दिइरहन्छ।

टिँटिँइइइइट.......छेवैमा आएर गाड़ीले बजाएको हर्नले म झसङ्ग भएँ।

गाड़ी बिस्तार-बिस्तार अगाड़ि गुड़न थाल्यो। सड़कको जाम केही खोलिएछ।

मन्दिरको ठिकै मुन्तिर गाड़ी पुग़्दा अनायसै मेरो आँखा चिम्म भयो अनि टाउको श्रद्धाले निहुरियो।

झण्डै पाँच वर्षअघि त हो दिप्तीले मलाई मायाले अह्राएकी थिई,"अरु कसैको अघि ननिहुरिए पनि भगवानको अगाड़ि यो टाउको निहुराउनु किनभने हाम्रो जीवनमा प्राण दिने यिनै भगवान हुन्। झन् कालीमाताले त तिमीलाई शक्ति दिन्छ....... जिउने शक्ति....।" उसको सुरिलो अवाज सुनेर प्रथमपल्ट म नतमस्तक भएको थिएँ सेवकेश्वरीअघि।

माथि मन्दिरमा एउटै प्रहारमा नरियल फुटाउन नसक्दा मैले मदद गर्नु उसको हातमा भएको नरियल पक्रिन खोज्दा हात पर सार्दै मन्दिरमा सङ्गै नरियल फुटाउने अथरिटी मैले तिमीलाई अझै दिएको छुइन भनेकी थिई। म मुसुक्क हाँसेको मात्रै थिए त्यसबेला। दुइ-तीन प्रहारमा उसले नरियल फुटाएपछि मेरो निधारमा टीका लगाइदिंदै थपेकी थिई उसले,"सधैं यस्तै राम्रो साथी भएर बस्नु।"

साथी मात्रै? अरु हुँदैन ?

उसले आँखा तरेकी थिई।

"उफ् फेरी गेट बन्द भयो!"  ड्राइभर झर्केर बोल्दा म फेरी वर्तमानमा आएँ। सेवकको रेल-गेट बन्द भएछ। कुनै रेल आउँदै होला। मलाई पनि घरी-घरी यसरी गाड़ी रोकिंदा झिञ्जेट लाग्यो तर त्यसदिन दिप्तीसित यही रेल-गेटमा यसरी नै हाम्रो अटोरिक्शा रोकिंदा झिञ्जेट लाग्नु त परै जावोस बरु यो रेल-गेट कहिले नखोलियोस जस्तै पो लागेको थियो मलाई। एउटै अवरोधको कहिले-काहीँ भिन्ना-भिन्नै अर्थ निस्किंदोरहेछ । त्यसदिन यहाँ हाम्रो अटोरिक्शा रोकिंदा मैले उसलाई जिस्काएको थिएँ, यसपल्ट त मेरो मास्टरको कोर्स सकिनै बित्तिक्कै तिमीलाई घर लैजाउँ भनेको हुँदैन होला – यो गेटलाई पर्खेको जस्तै फेरी पर्खिनु पर्ला जस्तो छ।"

उ केही बोलिन तर उसको अनुहारको रङ्ग फेरिएको मैले महसुस गरें। कति मान्छेले आफ्नो मनको कुरा मुखले भन्नु पर्दैन, उसको अनुहार र आँखाले सबै भन्छ । दिप्तीका आँखा र अनुहार पनि बोल्ने खालका छन्। उसले मुखले जे भने तापनि आँखाले मनको साँचो भाव व्यक्त गरिरहेको हुन्छ। श्याम वर्णकी लाम्लामा परेला भएकी दिप्तीको अनुहार र आँखा नियास्रो हुँदा झन् वर्षाको हुरी-बतासले भरेको बादल जस्तै देखिन्छ – अहिलै नै आँखाबाट आँसु बनेर पीड़ाहरु जम्मै छछल्किएला जस्तै तर दिप्ती रुदिन – रुएको देखेको छुइन – पीड़ाहरुलाई मनभित्र गुम्साएर राख्नसक्ने शक्ति छ उसित।

मेरो जब् हुन्छ जस्तै छ.....भयो भने त दिल्ली जानुपर्छ। दिल्ली गएँ भने कम्तीमा एक वर्ष त पर्खिनुपर्छ। सेटल हुनु पर्‍यो अनि जब् पनि पक्का हुनुपर्‍यो....नजाउँ जस्तो पनि लाग्छ तर गइनँ भने पनि हुन्न।" उसलाई नहेरी भनें मैले।

"एक वर्षमा त के के हुन्छ यहाँ।"

त्यति पनि पर्खिनु सक्दैनौ?

"म त सक्छु नि तर आमा-बाबा र दाजुहरु काँ मान्छ र !

मन अलि खिन्न भयो।

जेहोस् आखिरी म तिम्रो सेटअपमा फिट पनि त हुनु सक्दिन – तिमी पहाड़को म प्लेनको। – गह्रुङ्गो बन्दै गइरहेको माहौललाई अलि हलुङ्गो बनाउनु उसले हाँस्दै भनी।

"मेरो सेटअपमा एकदम फिट हुन्छौ तिमी...फिट नहोला जस्तै भयो भने म बलजफ्ती फिट गराउँछु,आन्दोलन गर्छु। तर तिमी यति राम्रो नेपाली बोल्छौ अनि हेर्नु पनि त हाम्रै छेत्री-बाहुन्नी केटी जस्तै छौ, मेरो सेटअपमा ट्याक्कै फिट हुन्छौ नि।"

"अनि काली चैं नि ?

"यति जाबो पनि काली हो र...सिलगड़ीमा बस्दा-बस्दा म पनि त कालो भइसकेछु।"

"ठीक छ म त नेपाली बोलिहाल्छु तर मेरो आमा-बाबा र दाजुहरु त नेपाली बोल्नु चिल्लै !

"म सबैलाई नेपाली सिकाइहाल्छु कि त म बङ्गाली सिक्छु।"

"आमाले तोमार यै जामा कि रकमेर भनेर सोध्यो भने।" भन्दै उसले मेरो गोजी नै गोजी भएको कार्गो प्यान्ट तानी।

जामा त छोरीले लगाई लोग्नेमान्छेले त प्यान्ट लगाई भन्छु ।" भन्दा ऊ खित्का छाड़ी-छाड़ी हाँसेकी थिई। उसको हँसाइ नरोकिञ्जेलसम्म मैले एकटक उसलाई हेरिरहेको थिएँ त्यसदिन।

अच्छा लौ म दिल्ली गएँ भने तिमीले मलाई के चिनो दिन्छौ ? सोधेँको थिएँ मैले।

उसले केही जवाफ दिइन...शुन्य आँखाले महानन्दा वन निहालिरही।

मैले उसको चिउँड़ोलाई औंलाले प्याट्ट तान्दै फेरी सोधेँ, - भनना मलाई के चिनो दिन्छौ ?

बिस्तार हाँस्दै उसले मतिर हेरी तर केही बोलिन।

म लाड़े पर्दै सोधेको थिएँ-"भनना?

आफ्नो दाहिने हातको चोर औंलाले टाउको कनाउँदै केही सोचेको जस्दै गरेर भनी, -अँ..... यस्तो गर्छु म तिमीलाई मेरो कविताको डायरी दिन्छु...मेरो याद आयो भने त्यो पढ़्दै मलाई सम्झिनु।"

तिम्रो बङ्गाली कविता पढे़र म के बुझ्नु ?

त्यो त मेरो जीवनको सबैभन्दा अमुल्य चीज हो...मेरो भावना..मेरो इमोशन..अनि महाशय भावना र इमोशनको कुनै भाषा हुँदैन...बाङ्ग्ला होस कि नेपाली भावना एउटै हुन्छ।"

यत्रो ठूलो-ठूलो कुरा चैं काँबाट सिक्छौ तिमी ? भन्दा फेरी एकपल्ट ऊ खित्का छाड़ी-छाड़ी हाँसेकी थिई।

हङ्ग्कङ्ग मार्केटमा एउटा कालो चश्मा किनेर दिंदै भनेकी थिई, -गोरो अनुहारमा यो कालो चश्मा राम्रो देखिन्छ।"

त्यसदिन कालो चश्मा लगाएर गजक्क परेर हङ्ग्कङ्ग मार्केटमा उसित निकै बेरसम्म म घुमेको थिएँ। हिन्दी सिनेमा ‘कल हो ना हो’-को एउटा सिडी किनेर दिंदै ‘ राम्रो फिल्म छ घर गएर हेर्नु’ भनेकी थिई।

साँच्चै कति सम्बन्ध कति अचम्भ र चोखो हुन्छ....न कुनै छल न कुनै कपट बस एकाअर्काको निम्ति सुख र खुशी।

तर खुशीका दिन अल्पायु हुन्छ अरे ! होला पनि । दिल्ली गएको एक महीनासम्म ठीकै थियो तर एक महीनापछि एकदिन आत्तिंदै दिप्तीले फोन गरी, सुन्नोस सायद अब म फोन गर्न सक्दिनँ होला..म............।" बस यति नै सुनेँ। फोन काट्टियो अनि त्यपछि त्यो नम्बरमा फेरी कल कनेक्ट नै भएन।

मेरो ई-मेलको इन्बक्समा उसको एउटा मेल आयो, तिमी दिल्लीबाट फर्किनुअघि मेरो आमा-बाबा र दाजुहरुले मेरो बिहे गरिदिने निधो गरेको छ। म दिन-दिनै लाचार बन्दै जाँदैछु। सायद अब म केही गर्न सक्ने स्थितिमा छुइन।"  त्यसपछि न त कुनै मेल आयो न त उसको ई-मेलमा कुनै मेल नै गयो। जतिपल्ट मैले उसलाई मेल पठाउने कोसिस गरें त्यतिपल्ट मेल डेलिभरि फ्यालर सूचना आयो। सायद ई-मेल ठेगान नै डिएक्टिभेट गरी कि ? परिस्थिति यस्तो थियो म जागीर छाडे़र फर्की आउन पनि सकिनँ। त्यसपछि हाम्रो सम्पर्क विच्छेद भयो सायद सम्बन्ध पनि।

थाहा छ स्थितिले पक्कै मलाई दिप्तीको नजरमा धोकाबाज बनाएको छ। मैले केही गर्ने प्रयास धरि गरिनँ – सायद म दिप्तीको नजरमा नामर्द बनेको छु। म हारेको मान्छे बनेको छु – मलाई यसको पीड़ा छैन। स्थितिसित जुझ्न नसक्ने काँतर बनेको छु – मलाई दु:ख छैन। यो विछोड़ सहने कालीमाताले पनि मलाई शक्ति दिइन जस्तै छ। सायद यो नियती नै होला मैले दिप्तीलाई जीवनमा भेटेँ अनि सायद यो पनि नियती नै होला मैले दिप्तीलाई गुमाइपठाएँ। तर जति दिन मैले दिप्तीको संसर्गमा बिताए ती पलहरु मेरो जीवनका सबैभन्दा मीठा पलहरु हुन् । बस! दिप्तीको बिहे भएकै हो त? हो भने कोसित भयो होला? उ कस्ती छे ? एकपल्ट भेट भए भन्ने थिएँ "मलाई माफ गरिदेऊ दिप्ती...म काँतर बने, म तिम्रो कल्प्रिट हुँ।"

दाइ ! एनजेपी आइपुग्यो ! ड्राइभरले मेरो कुम समातेर हल्लाउँदा म झसङ्ग भएँ। मलाई आफ्नो बेहोसीपनमा कुरी-कुरी पनि लाग्यो ।

आफ्नो दिल्लीगामी रेल कुर्न प्लेटफर्मतिर लम्किंदै गर्दा पछाड़ि चकिलो स्वरमा कुनै नारी चिच्याएको सुनेँ -"ओई दिप्ती दासगुप्तो...अनेक दिन परे देखा हल । वाउ ! बियेर परे तोके आरौ सुन्दर देखाजाच्छे !

झण्डै पाँच वर्षपछि दिप्ती दासगुप्ताको नाउँ सुनेर मेरो मुटु ढुक्-ढुक् भयो...आँखाअगाड़ि एकछिन त अँध्यारो छायो....आफूलाई सम्हाल्न आँखा चिम्म गरें अनि लामो सास फ्याँकेँ र हत्तारिंदै अवाजको दिशातिर फनक्क फर्केँ।

                                                                        *********

No comments:

Post a Comment