
अक्टुबर महीनाको अन्ततिरको एउटा रमाइलो साँझ.....ब्रह्मपुत्रको बगरमा स्थित ओपन एयर रेस्टुराँ अल्फ्रेस्कोको एउटा टेबुलमा मन्द-मन्द वायुको मजा लिंदै ब्रह्मपुत्रको पारि क्षितिजमा डुब्दै गरेको घाम हेरिरहेको छु। गत दुइ महीनादेखि प्राय: आफ्नो प्रत्येक एकान्त साँझ मैले यही रेस्टुराँमा बिताएको छु। आज गुवाहाटीको मौसम मनमोहक बनेको छ.....त्यसै पनि जाड़ो यामको यो आरम्भ हो अनि आज मध्यान्हपछि परेको हलुको छिटाछिटीले वातावरणलाई केही शीतलता प्रदान गरेको छ त्यसमाथि झन बेलुकीपखको अलिअलि केश उड़ाउने चिसो बतासले यसलाई अझ रुमानी बनाइदिएको छ। खुला आकाशमुनि बसेर बियरको चुस्किसित सिगरेटको धुवाँ बुङ्ग उड़ाउँदै यो मौसमको मजा लिनु छुट्टै आनन्द छ...... अझ यो मादक पलमा मलाई साथदिनु माया पनि मसित भएकी भए.....। ब्रह्मपुत्रको पानी सुकेर आधीभन्दा पनि कम भएको छ...तर विशालकाय ब्रह्मपुत्रले आफ्नो विकरालता र महत्ता भने गुमाएको छैन। दुईतीनवटा ससाना डुङ्गा अन्गिन्ती यात्रु बोकेर गुवाहाटीको यो पाखाबाट उता उत्तर पाखा पुग्नु हतारिंदै दगुरिरहेका छन्.....मन्द गतिमा बगिरहेको ब्रह्मपुत्रको पानीमाथि। गुवाहाटी जस्तो व्यस्त शहरबाट दिनभरिको लखतरान हुने काम सकेर रात पर्नअघि केही बेरमा आफ्नो घरको शान्त वातावरणमा आफन्तहरुमाझ पुग्दा ती डुङ्गाका यात्रीहरुमा कति खुशी सञ्चार हुन्छ होला.... कल्पना मात्रले पनि आनन्दविभोर बनाउँछ।
'एक्सक्यूज मी !!! कुड आई प्लीज शेयर द टेबल विथ यू’-एउटा मधुर आग्रहले मेरो सोँचाइमा बाधा पुर्यायो।
आवाजको दिशातिर मैले आफ्नो मुण्टो फर्काएँ – एउटी सुन्दर आकर्षक युवती थिई....यसरी अप्रत्याशित एउटी युवतीलाई आफ्नोअघि देखेर म अकमक्क परेँ......एकछिन् त मेरो वाक्कै फुटेन....अवचेतन स्थितिमा मैले उसलाई टाउकोदेखि खुट्टासम्म नियालेर हेरें – पच्चीस-तीस वर्षीया सामान्य जीउडालकी आकर्षक युवती....आकासी नीलो सलवार-कमीज लगाएकी, कानमा नीलो कानफूली, नारीमा नीलो बाइँ, खुट्टामा नीलो जुत्ता....रङ्ग नमिलेको केही थियो भने उसको गोरो मुहारमा सानो खैरो चस्मा...बस।
'मलाई आशा छ तपाईँसित म यहाँ बस्दा तपाईँलाई कुनै आपत्ति हुने छैन’- मलाई मूक देखेर मेरो स्वीकृति नपर्खी ऊ मेरो सामुन्ने कुर्सीमा थचक्क बसी।
एउटी आकर्षक युवती एक्कासी आफ्नो सामुन्ने आउँदा म जुन अर्धचेतन अवस्थामा पुगेको थिएँ त्यो अवस्थाबाट झट्ट निस्किनु सकिनँ....म त्यसरी नै ट्वाल्ल परिरहेँ।
'एउटी युवती यसरी तपाईँसामु आएर बस्दा तपाईँलाई सायद अचम्म लागिरहेको होला,’- अङ्ग्रेजीमै भनी उसले। उसको यो वाक्यले म झसङ्ग भएँ.....कसैले चिमोटेर निद्राबाट ब्युँझाएजस्तै.....म खिसिक्क हाँसें। तन्द्रा टुट्नेबित्तिक्कै एउटी अञ्जान युवती आएर यसरी आफुसित बसेको वास्तविकताले मेरो मनमा एउटा अज्ञात भय जन्मायो.....कुनै अनिष्ट हुने त्रासले मन कता-कता काम्यो। कि त यो युवती.....होइन, होइन...यति शील र शिष्ट युवती त्यस्तो खाले हुन सक्दैन....छि:! मेरो विचार कति तुच्छ। जेसुकै होस्, यति शिष्ट लवजमा आग्रह गर्दा मैले उसलाई नाइनास्ती गर्ने अशिष्टता गर्न सकिनँ.....फेरि भएन यस्तो उन्मादित वातावरणमा एउटी सुन्दर युवतीको सान्निध्य नगुमाउने पौरुषेय लोभ पनि थियो मेरो मनमा।
'...यदि तपाईँले यस्तै सोच्नुहुन्छ भने यो तपाईँको गल्ती होइन....असलमा हाम्रो समाज नै यस्तै छ........एउटी नारी अलिक फरासिली र मिलनसार भयो कि तपाईँ लोग्नेमान्छेहरु त्यस्तै सोच्नुहुन्छ.... फरासिलो हुनु के लोग्ने मान्छेको मात्र पेवा हो ?’- उसको तर्क सुनेर मलाई मनमनै लज्जाबोध भयो अनि मेरो मनोभाव चाल पाई कि ठानेर कुरी-कुरी पनि लाग्यो। चिन्तन-मनन नगरी सोझै निष्कर्ष निकालेकोमा मलाई विस्मात पनि लाग्यो र आफुलाई सामान्य बनाउने प्रयास गर्दै मैले भनें-‘नट एट अल ! बी कम्फर्टेबल!! इन्डिड आई एम हेप्पी टू ह्याव योर कम्पेनी!’
‘हुन त म अरु खाली टेबलमा पनि बस्न सक्थें तर तपाईँलाई एक्लै देखें अनि म पनि एक्लै थिएँ.....मलाई लाग्यो दुईजना मिलेर साँझ बिताए आनन्द मिल्छ....आई एम सरी इफ् आई डिस्टर्ब्ड योर ट्राङ्क्युलिटी एक अल्!’
'प्लीज तपाईँ अप्ठ्यारो नमान्नुहोस्....अँ! तपाईँ के लिनुहुन्छ? बियर लिनुहुन्छ?'-मैले औपचारिकतावस सोधेँ।
'बियर !!!.....अहँ लिन्न...म एउटा कोल्डड्रिङ्क मात्र लिन्छु...बस ।'
बेयरालाई बोलाएर मैले एउटा कोल्डड्रिङ्क दिनु अह्राएँ अनि आफ्नो आशंका लुकाउन गोजीबाट सिगरेट निकालेर सल्काएँ, उसको अनुहारमा परिलक्षित लाचारीपन र व्याकुलता मेरो अनुभवी आँखाबाट लुक्न सकेन।
'तपाईँ आर्मीमा हुनुहुन्छ?’ कुराको सिलसिलालाई उसैले अघि बडाई।
'किन ? ....म सिपाही जस्तै देखिन्छु ?’- उल्टै प्रश्न गरेँ मैले।
'तपाईँको हेयरकट, फिजिक्स....ड्रेसअप...आर्मी जस्तै छ नि....।'
'तिमी ढुक्क बस म सिपाही होइन...’,- हाँस्दै भने मैले। वास्तवमा पहिलो भेटमै एउटी अञ्जान युवतीलाई आफ्नो सम्पूर्ण परिचय व्यक्त गर्ने पक्षमा थिइन म – कि त उसको रहस्यमय आगमनझैं म आफ्नो परिचय पनि रहस्यपूर्ण राख्न चाहन्थें सायद – त्यसैले मैले आफ्नो बारेमा अरु केही भनिनँ।
'एनी वे....म पखिला...पखिला बरुवा....,’-भन्दै उसले आफ्नो दाहिने हात मतिर तेर्साई।
'पखिला...ब्युटिफूल नेम’,- मैले हात मिलाउँदै आफ्नो नाउँ र घर बताएँ अनि गुवाहाटी प्रवासको कारण बताएँ।
'तपाईँलाई पखिलाको अर्थ थाहा छ ?’-उसैले सोधी अनि फेरि मेरो जवाफको प्रतीक्षा नगरी हावामा हात नचाउँदै उसैले हतारिंदै भनी –‘अहमीयामा पखिलाको अर्थ हो पुतली.....म सानोमा पुतली जस्तै उड़िहिँडथें अरे......र बाबाले मेरो नाम पखिला राखिदिएको अरे!’ सायद हामीमाझ आत्मीयता र सान्नीध्य दर्शाउन चाहन्थी उ अथवा साँच्चै उसलाई आफ्नो नाउँ र त्यसको अर्थमाथि गर्व थियो...मलाई आफ्नो नाउँको अर्थ बताउने इच्छा लागेनँ।
बेयराले कोल्डड्रिङ्कको बोतल र एउटा खाली गिलास लिएर टेबुलमा राखिदियो। बेयराको पछि-पछि रेस्टुराँको म्यानेजर पनि आयो र आग्रह गर्यो –‘प्लीज सर तपाईँहरु छिट्छिटो खाएर यहाँबाट गइहाल्नोस्...आज कुन्नि किन पूलिसले एकदमै बेसी खानतलासी गर्दै छ...तपाईँहरुको बारेमा दुईतीनपल्ट सोधिसक्यो..मैले रेगुलर आउने आर्मी अफिसर भनिदिएँ...आज कुन्नि के खोजेको हो...।'
गलत पहिचानले पनि मान्छेलाई कहिलेकाहीँ फायदै पुर्याउँदोरहेछ, आज थाहा पाएँ। पहिचानमा भुलभ्रान्तिले गर्दा नै होला पखिलासित भेट भयो अनि उसको र मेरो यो सन्देहास्पद मिलनमा अहिले फेरि यही भ्रम नै सुरक्षाकवच बन्दैछ.......तर मलाई ढुक्क हुनु छैन किनभने असमको वर्तमान स्थितिबाट म अनभिज्ञ छुइनँ...बाहिरबाट शान्त देखिएता पनि भित्र उथुल-पुथुल छ – ठिक्क ब्रह्मपुत्रझैं। म्यानेजरको चेतावनीले गम्भीर बनाएको वातावरणलाई हलुङ्गो बनाउनु मैले पखिलालाई जिस्काएँ-‘कतै पुलिसले तिमिलाई खोज्नु त आएको होइन?’
मेरो कुरा सुनेर उ अनकनिई...कोल्डड्रिङ्क खानु बिर्सेर ट्वाल्ल परेर मलाई हेरी।
उसको अनकनाइले मेरो ठट्टा सही प्रमाण गरिरहेता पनि अनुचित समयमा कुरा निकालेको मलाई तत्काल भान भयो र एउटा राम्रो माहौल बर्बाद गर्ने आफ्नो यो प्रयासको निम्ति मलाई आफैमाथि जङ चल्यो....स्थितिलाई फेरि सामान्य बनाउनु मैले सोधेँ-‘तिम्रो घर चाहिँ कता पर्छ पखिला?’
उ केही बोलिन....कोल्डड्रिङ्क सुरुप्प तानी।
मैले फेरि सोधेँ – ‘हेल्लो!!!!! घर ?’
'जोरहाट थाहा छ?’-अनुहारमा कुनै भाव बिना भनी उसले अनि कोल्डड्रिङ्क फेरि सुरुप्प तान्दै छिटो-छिटो थपी –‘जोरहाटबाट भित्र पसे निमातिघाट पुगिन्छ....त्यही घाटको नजीक कमलापुर भन्ने गाउँ छ....त्यही मेरो गाउँ हो।'
‘काम..!!!? एउटा एन......’-निकै बेर अडकिएपछि हत्तारिंदै उसले थपी –‘एनजीओमा काम गर्छु....पुरै आसाम डुल्नु पर्छ..|’
‘के काम गर्छ्यौ भन्न चाहन्नौ भने नभन करकाप छैन,’- उसको मुखको अभिव्यक्ति र आँखाको भावमा मेल थिएन, कतै केही अस्पष्टताको चिन्ह थियो। यसरी एउटी युवती एकजना अञ्जान पुरुषसित यति चाँड़ै झ्यामिएको कारण मेरो मनमा उर्लिरहेको शंकाको भेललाई उसको यो अनकनाइले अझ बल दिंदै थियो तर घरीघरी शंकालु प्रश्न गरेर उसको अप्ठ्यारोपनलाई म अझ बढ़ाउन चाहदिनँ...हुन सक्छ उ कसैबाट लुक्दै-भाग्दै मेरो शरणमा आएकी हो अथवा उ त्यही खाले हो...तर उसको बडी ल्याङ्गुएजले ऊ त्यही खाले युवती हो जस्ती पटक्कै देखिंदैन त्यसै पनि मलाई शरीरको त्यो खेलप्रति त्यति रुचि छैन तर आखिर म पनि त हाड़ र छालाले बनिएको लोग्ने मान्छे हुँ आफ्नो संयमलाई कहिलेसम्म नियन्त्रण गर्नुसक्छु र.....त्यसैले ऊ त्यही खाले युवती हो भन्ने अलिकता पनि सुँइको पाए म उसलाई तुरन्तै पन्साइदिने हकमा छु। उसको अनुहारको फुस्रोपन र बोलीको आतुरताले मेरो पहिलो शंकालाई पुष्टि गरिरहेको थियो र यसले मनलाई रोमांचित मात्र तुल्याइरहेको थिएन तर अज्ञात खतरा पनि संकेत गर्दै थियो......कहिलेकाहीँ जिन्दगीमा अलिकता खतरा उठाउँदा बेग्लै आनन्द पाइंदोरहेछ त्यो मलाई त्यसै क्षण आभास भयो।
'तिमी नयाँ रहेछौ ! असमको कुन-कुन ठाउँ हेरिसक्यौ?’-सोधी उसले।
'आसाम ? आसामको कुरा छोड़ मैले त गुवाहाटी त पुरा हेरिसकेको छुइनँ...गुवाहाटीमा केही हेरें भने त्यो हो कामाख्या मन्दिर..बस!’
‘तिमी उमानन्द पनि गएको छैनौ?..बालाजी पनि गएको छैनौ? कलाक्षेत्र...चिडियाघर...बशिष्ठ....गीता मन्दिर...श्याम मन्दिर कतै गएको छैनौ ?’
उ फेरि पहिले झैँ चहकिन थाली...मलाई आनन्द लाग्यो।
‘तिमी गुवाहाटी आएको कति भयो?’-चहकिंदै सोधी उसले।
‘गुवाहाटी आएको?.....अब पर्सि फर्किन्छु......मेरो गुवाहाटीको काम सकियो..।'
‘लौ अब दुई दिनमा हेर्यौ गुवाहाटी !!!’
म केही बोलिनँ उतिर पुलुक्क हेरें मात्र।
'यसो गरौं..अब यहाँबाट हामी निस्कौं..आज म तिमीलाई गुवाहाटीको यो पाखा देखाउँछु कछारीसम्म..।'
बिल तिरेर म फुटपाथमा ओर्ले...फुटपाथमा थापेको सानो पसलेसित उसले असमियामा एकछिन् कुराकानी गरी अनि तामुलपान किनी र चपाउन थाली। मैले एउटा सिगरेट सल्काएर तानें। उसको हाउभाउ देख्दा उ तत्काल त्यो ठाउँ छोडेर अन्तै जान आतुरिरहेको भान भयो मलाई।उ पान चपाउँदै अनि म सिगरेट तान्दै कछारीतिर हिँड़न थाल्यौं। सडकमा साँझपखको व्यस्तता छ...पञ्जाबारी, खानापारा, वशिष्ठ, नारङ्गी, सातगाउँ, आदाबारी, जालुकबारी जाने सिटिबसहरु एकपछि अर्को हतारिंदै दगुरिरहेका छन...बसका खलासीको चिच्याइले कोलाहललाई अझ बड़ाइरहेको छ।
‘तिमीलाई गुवाहाटी कस्तो लाग्यो..?’-पखिलाले सोधी।
‘गुवाहाटी त राम्रै लाग्यो तर...तामुल खाएर जहाँ पायो त्यहाँ प्याच्च थुक्ने तिमीहरुको बानी चाहिँ मलाई पटक्कै मन परेनँ ।‘- मैले भनेँ।
‘तामुल-पान खाएनौ भने त हामी अहमीया नै हुँदैनौ...यो त हाम्रो संस्कारमै छ...पाहुनालाई सत्कार गर्दा पनि हामी तामुलपान नै दिन्छौं...अँ ! तिमीहरुको चाहिँ पान खाएर थुक्दैनौं?-उ हासीँ।
म निरुत्तर भएँ।
‘तिमीले चाहिँ कति सिगरेट खाएको?’-उसले नाक खुम्चाई।
‘तिमीलाई सिगरेट मन पर्दैन?’
‘सिगरेटको धुवाँसित पनि मलाई त रिस उठ्छ।'
ब्रह्मपुत्रको फोहोर बगर देखाउँदै उसले भनी –‘यो पाखा अब ब्युटिफाई हुँदैछ...शहरभित्रको जम्मै बगरमा गार्डेन र रेस्टुराँ बनाउने सरकारको योजना छ....अहिले सुक्खा मौसम हो नत्र ब्रह्मपुत्र अलि बढेको बेला यहाँ क्रुज अनि फ्लोटिङ्ग रेस्टुराँ चल्छ...’,- उ बोल्दै थिई अनि उसले बताएको दिशातिर म हेर्दै थिएँ – ‘यो हुक्लेश्वर मन्दिर हो...यहाँबाट अलिक पर डीसीको निवास छ...त्यसपछि कछारी अनि कछारीको अलिक पर हाई-कोर्ट छ...त्यसपछि गुवाहाटी प्लानेटेरियम..।'
‘तिमीले त मलाई पूरै गुवाहाटी शहर आज नै देखाइसक्नेरहेछौ...तिमीलाई थाहा छ यसबेला मलाई के कुराको थकथक भइरहेको छ?’
उ केही बोलिन, मलाई पुलुक्क मतिर हेरी मात्र।
‘झण्डै मेरो दुई महीनाको गुवाहाटीको बसाइमा तिमी साह्रै ढिलो भेटियौ...हिज-अस्ति नै भेटिनुपर्ने नि तिमी !’
उ हाँसी मात्र...केही पलको मौनतापछि –‘जसलाई जहिले अनि जहाँ भेटिने भाग्यमा लेखिएको हुन्छ त्यहीँ भेटिन्छ... छिटो पनि भेटिन्न ढिलो पनि भेटिन्न...।'-थपी उसले।
‘तिमी त दार्शनिक जस्तै पो कुरा गर्छ्यौ!’
'अब तिमीलाई हुक्लेश्वर मन्दिर र कछारी मात्र देखाउँदा मलाई दार्शनिक भन्न थाल्यौ डल्लै गुवाहाटी देखाएँ भने त तिमीले मलाई के-के पो भन्नेरहेछौ’,- उ इतरिई।
'के-के भन्नेरहेछु भनिहाल न’,- मैले जिस्काएँ।
‘होस् अब....यता हेर...यो कछारी हो...’,- कछारी देखाउँदै उसले मलाई कछारीको पछिल्लो भागमा पुर्याई –‘यहाँबाट हेर..ऊ..त्यो प...र ब्रह्मपुत्रको माझमा देखिएको उमानन्द मन्दिर हो..हिजआज पानी सुकेर परसम्म बालुवाको थुप्रो देखिंदै छ...बर्खामा नदी उर्लिंदा पानी कछारीको यहाँसम्म आइपुग्छ..भनिन्छ अहिले ब्रह्मपुत्रको प्रवाह जहाँ छ पहिले त्योभन्दा पनि प...र उमानन्दको पारिपट्टि थियो रे...त्यसबेला उमानन्दसम्म हिँडेर नै जान सकिन्थ्यो रे...तर पछि ब्रह्मपुत्रको प्रवाहले बगर काटिंदै नदी विस्तार भएर यहाँसम्म आइपुगेको रे...पानी बढ्दा उमानन्द, उर्वशी र कर्मनसा टापु मात्र देखिन्छ...यति बिघ्न पानी सुकेको 1940-सालपछि यो पहिलोपल्ट हो भनिन्छ’.-उसले सम्पूर्ण वृतान्त एकै सासमा मलाई सुनाई।
‘हामी ब्रह्मपुत्रलाई अहमीयामा लुइत पनि भन्छौं...भुपेन हाजरिकाका गीतहरुमा तिमीले लुइत भनेको सुन्नसक्छौ...कि गीत भनेपछि चिल्लै?'
‘होस् होस्...अहिले मान्छेहरु बाटोमै नाच्लान् नि!’- भन्दै खित्का छाड़ेर हाँसी।
बिस्तार रातको कालो जालोमा शहर बाधिंदै जाँदै थियो...झल्याक-झुलुक बत्ती बल्न थाल्यो। केही पलअघिसम्म मेरो निम्तो अस्तित्वमै नरहेकी एउटी युवती यसरी यस घड़ी कुनै पनि कारणले गर्दा होस् यति आत्मीयतापूर्वक वर्षौं चिनाजानझैं हेलमेल भएर मसित निर्धक्क कुराकानी गरिरहेको सत्यले मलाई जीवनको अनौठोपनप्रति अचम्म लागेर आयो। यति सुन्दर जीवन..... यसलाई मास्नु किन हामी एकार्काको पछाड़ि कुदिरहेका छौं।
‘लौ आजलाई यति नै.....आज रात पनि पर्यो...भोलि मलाई यही कछारीमा तीन बजे भेटनु म तिमीलाई कलाक्षेत्र, वशिष्ठ र भ्याइयो भने बालाजी लगेर जान्छु...ओके गुडनाइट्।'
हामीमाझ अरु कुनै कुराकानी भएन...उ कहाँ बस्छे मैले सोध्न सकिनँ...म कहाँ बस्छु सायद उसले सोध्न जरुरी ठानिन। सिटिबसमा चढेर ऊ गएपछि निकै बेरसम्म म त्यही जड भई उभिरहेँ।
@@@
कछारीबाट सिटिबसमा चानमारी, गणेशगुडी, छ: माईल हुँदै कलाक्षेत्र पुग्दा अपराह्नको झण्डै चार बज्न लागेको थियो। पखिला हिजझैं आज पनि म्याच मिल्ने रङ्गको पहिरनमा छे.....सुनौलो साड़ी...सुनौलो कानफुली....नारीमा सुनौलो चुरा...अनि सुनौलो ब्याग र जुत्ता...रङ्ग म्याच नगर्ने आज पनि केही छ भने त्यो हो गोरो मुहारमा सानो खैरो चश्मा।
‘तिमी त हिज नीलै थियौ अनि आज पुरै सुनौलो...’- मैले जिस्काएँ।
‘मलाई यस्तै रङ्ग म्याच गरेर लगाउने बानी छ'- ऊ मुसुक्क हाँसी।
‘यो हंकरदेव कलाखेत्र हो..।'
'हंकरदेव कलाखेत्र? यो त शंकरदेव कलाक्षेत्र पो त !’-मैले बिचैमा कुरा काटें।
‘अब तिमीहरु यसलाई शंकरदेव कलाक्षेत्र भन्छौ होला हामी अहमीया त यसलाई हंकरदेव कलाखेत्र नै भन्छौं...बुझ्यौ?’
‘खै तिमीहरु ‘स’-लाई ‘ह’ अनि ‘च’-लाई ‘स’ भन्छौ...मलाई बुझ्नै अप्ठ्यारो!’
‘आ-आफ्नो भाषाको आ-आफ्नै विशिष्टता र तरिका हुन्छ, अब अहमीया भाषाको तरिका यस्तै छ भने म के गरुँ!’
‘अँ! तिम्रो जिब्रो मडकाई-मडकाई कुरा गरेको चाहिँ मलाई खुब राम्रो लाग्छ...मलाई पनि त्यसरी नै कुरा गर्नु मन लाग्छ तर...यति छिटो कसरी सिक्नु!’
'यहीँ बस्नु अनि जिन्दगीभरि अहमीया सिकिरहनु नि!’
‘घरकी बूढी र नानीहरु चाहिँ नि..?’
'हंकरदेव असमका एकजना धार्मिक गुरु हुन्.....उनलाई माने आज असममा थुप्रै छन्...यो कलाखेत्र असमको संस्कृति र इतिहासको संरक्षणको निम्ति निर्माण गरिएको हो...मेनगेटपछि बनिएको यो अर्को गेट आहोम राजाको आमोदप्रमोद स्थल रङ्गघरको रेप्लिका हो, यसको ओरिजिनल रुईन्स हेर्नु हो भने हिवहागर जानुपर्छ...उ पर त्यो ठूलो बिल्डिङ संग्रहालय हो...त्यसको पारि भित्तामा साँझपख लाइट र साउण्ड शो हुन्छ जसमा असमको इतिहास वर्णन गरिन्छ...आज हामी त्यो हेर्नु सक्दैनौ किनभने हामीलाई बालाजी मन्दिर पनि जानु छ।'
‘यहाँ आसामको बिहू नाच हुँदैन...कम्मर भाँची-भाँची नाचेको मलाई खुब राम्रो लाग्छ ।'
‘असममा हामी वर्षमा तीनवटा बिहू मान्छौं.....माघमा एउटा, कार्तिकमा अर्को अनि फेरि बैसाखमा। त्यसो त बिहू नाच सबै बिहूमा नाचिन्छ तर बिहू नाच हेर्नु हो भने बहाग अर्थात बैसाख महीनाको बिहू हेर्नुपर्छ...बसन्त ऋतुसितै हर्ष्षोल्लासको चाड़ बहाग बिहू शुरु हुन्छ अनि त्यसबेला खुब नाचगान हुन्छ.... त्यसबेला कलाखेत्रमा पनि विशेष बिहू कार्यक्रम हुन्छ...तर बिहू नाचभन्दा राम्रो नाच हो हत्रीय नाच।'
‘अँ हत्रीय नाच....मैले हिज भने नि मेरो गाउँ अनि निमातिघाट.....त्यही निमातिघाटबाट पुगिन्छ संसारको सबैभन्दा ठूलो नदी-द्विप अर्थात रिभर-आइल्याण्ड माजुलि...हो यही द्विप हत्रीय नाचको मूल थलो हो।'
‘तिमीहरुको अरु के-के नाच हुन्छ?’
‘किन नाच्नु मन लाग्यो!’-ठट्टा गरी उसले-‘अब थुप्रै नाच हुन्छ नी...अझ एकदुईवटा नाच चाहिँ होइन नाचको मुर्ती हेर्नु छ भने कछारीछेउ नेहरु पार्क जानु त्यहाँ देख्नेछौ।'
‘तिम्रो आसाम साँच्चै विचित्र छ...छुट्टै आकर्षण....तिमी जस्तै!’
‘विचित्र भन्दा याद आयो...असमको एउटा ठाउँ छ जतिङ्गा...जहाँ यसबेला एउटा अदभुत प्राकृतिक घटना घट्छ...जतिङ्गा भन्ने जङ्गलमा वर्षको यो बेला आगो बाल्यो भने चराहरु उड़दै आएर त्यो आगोमा हाम फाल्छन्...यो चाहिँ फेरि अरु बेला हुँदैन् नि....हो नि विचित्र?’
‘फिनिक्स!!!!!’- मेरो भनाइमा उ अचम्मित पाराले मलाई हेरी तर केही भनिन।
कलाक्षेत्रमा एकछिन् बसेर हामीले आइसक्रिम खाँदै विचित्र आसामको अझ थुप्रै कुरा गर्यौं अनि त्यसपछि बालाजीतिर लाग्यौं। व्यस्त गुवाहाटीको कोलाहलबाट टाढ़ो बेतकुचीमा स्थित सेतो संगमरमरले बनिएको बालाजी मन्दिर बत्ती जलेपछि मनमोहक बनेको छ....मन र आँखालाई शान्ति प्रदान गर्ने। त्यो शान्त वातावरणमा केही क्षण बिताएपछि हामी जालुकबारी हुँदै फेरि कछारी पुग्यौं। कछारी पुग्दा झमक्क रात परिसकेको थियो।
कछारी पुगेर छुट्टिने बेलामा उसले मेरो दुवै हात च्याप्पै पक्रेर भनी –‘भोलि काम सकेर कतै ननिस्किनु....एकदमै ननिस्किनु...होटेलमै बसिरहनु...पर्सि तीन बजे मलाई फेरि यहीँ भेट्नु।'
@@@@@
हिज बेलुकी व्यस्त बजारमा बम पडकिएको कारण आज बिहान होटेलबाट निस्किंदा होटेलको म्यानेजरले मलाई बजारमा बेसी नडुल्ने सल्लाह दियो। आफ्नो दुई महीनाको सबै काम सिध्याएर कार्यालयमा सबैसित विदावारी लिइवरी कछारी पुग्दा निर्धारित समयभन्दा झण्डै एक-डेढ घण्टा अबेर भएको थिएँ....तर पखिला त्यहीँ थिई...मेरो प्रतीक्षामा।
‘मलाई देख्ने बित्तिक्कै ऊ मेरो छेउ आई....अबेरको निम्ति कुनै गुनासो गरिन तर सोधी –‘तिमी ठिकै छौ?’
‘मलाई के हुन्छ र ......ठिकै छु म।'-भनें अनि एकछिनपछि अझ थपें-‘भोलि बिहान राजधानी एक्सप्रेसमा मा घर फर्किन्छु...आज मेरो सबै काम सकियो...त्यसैले यहाँ आइपुग्नु मलाई अलिक ढिलो भयो आज...फेरि भएन हिज बम विस्फोटमा निर्दोष मानिस मारिएको विरोधमा बजारमा प्रदर्शन गर्दै थियो र बाटो जाम थियो र यहाँ पुग्नु अझ ढिलो भयो..।'
‘यसरी निर्दोष मानिस मारेर के पाइन्छ हगि? ...यसरी निर्दोष मान्छे मार्नेहरुको मुटु छैन कि क्या हो?’
केही क्षण मौन रहेपछि उ बोली –‘युद्धमा यस्तै हुन्छ....निर्दोष मानिसहरु मर्छन्....केही पाउनु केही गुमाउनु पनि पर्छ।'
‘यो कस्तो युद्ध हो..अनि कसको विरोधमा युद्ध हो...के पाउनुको निम्ति निर्दोष मानिस मार्नु?’
उ फेरि मौन रही।
‘पखिला, मलाई तिम्रो विचार सुनेर अचम्म लाग्यो! भलै हाम्रो चिनापर्ची दुई दिनको मात्र हो....तिम्रो व्यवहारले मलाई लागेको थियो तिमी करुण हृदयकी हौ तर तिम्रो यत्रो कठोर मुटु?’
‘मान्छे जस्तो देखिन्छ त्यस्तो हुँदैन....जस्तो हुन्छ त्यस्तो देखिन्न!’-मेरो अनुहारमा नहेरी भनी उसले।
‘तिम्रो ठूल्ठूला कुरा बुझ्दिनँ म...बस मेरो विचारमा त संसारमा बैरभाव वा घृणा होइन चारैतिर शान्ति र माया हुनुपर्छ..बुझ्यौ?’
‘प्लीज..हामी यो विषयमा अरु कुरा नगरौं’,- अलिक चिन्तित आवाजमा भनी र अलि अड़किंदै उसले अझ थपी –‘भोलि फर्किने अरे? ठिकै छ..आज रात पनि पर्यो ..अब कतै घुम्न पनि भ्याईन्न....आज कतै नजाऔं...भोलि बिहान तिमीलाई सी-अफ गर्नु म स्टेशन आउँछु...आज हामी छुटौं ल!’
उ अरु केही बोलिन.....म पनि अझ केही बोल्ने आँट गर्न सकिनँ....बोल्ने मौका आउँदा किन होला मन सुन्न हुन्छ....यो मन पनि अनौठै छ। एकछिन त्यहीँ उभिरहेपछि मलाई मौन देखेर ऊ लुरुलुरु आफ्नो बाटो लागी। आफुलाई सामान्य बनाउन केही बेरसम्म म त्यहीँ उभिरहें।
@@@@@
बिहान छ बजे म रेल्वे स्टेशन पुग्दा उ अघि नै स्टेशन आइसकेकी थिई। मलाई देख्ने बित्तिक्कै उ मुसुक्क हाँसी। उसले हातमा पक्रिएको पोलिथिनबाट एउटा पोको दिंदै भनी –‘तिम्रो ब्राण्डको सिगरेट...बाटोमा खानु।'
‘ओह माई गड!!’- मैले सिगरेटको पोको नपक्री भनें-‘तिमीलाई भन्नै बिर्सेछु...अस्ति तिमीलाई भेटेको दिनदेखि मैले सिगरेट खानु छाडिदिएँ।‘ अनि गोजीमा हात हालेर एउटा पोको निकालेर उसलाई दिंदै भनें –‘लौ तामुलपान...तिम्रो लागी..अतिथी सत्कार!’
उ मुसुक्क हाँसी अनि आफ्ना दुवै हात कम्मरको दुवैपट्टि राख्दै अलिक बनावटी आवाजमा भनी –‘अनि तिमीलाई थाहा छैन...मैले पनि अस्ति तिमीलाई भेटे दिनदेखि तामुलपान खानु छाडिदिएँ।'
‘त्यसो भए तिमी अहमीया भनिन्नौ नि!’-मैले जिस्काएँ।
‘नभने नभनोस्....’,-उसले हातको मुद्रा बनाउँदै यस्तो अभिनयमा भनी कि हामी दुवै खित्का छाड़ेर हाँस्यौं। हामी हाँसेको देखेर हाम्रा वरिपरिका यात्रीहरुले अचम्म मान्दै हामीलाई हेरे...हामीले त्यसको वास्तै गरेनौं...कहिलेकाहिँ आफ्ना वरिपरिको संसार बिर्सेर आफै भएर बाँच्दा कति मज्जा आउँछ।
रेलको कम्पार्टमेन्टमा आफ्नो सामान राखिवरी बाहिर उसको छेउ आउँदा मुण्टो निहुराएर उसले भनी –‘तिमीलाई थाहा छ...हाम्रो पहिलो भेट एउटा संजोग थियो मात्र संजोग....त्यो भेटमा मैले तिमीलाई प्रयोग गरेको थिएँ...यूज गरेकी थिएँ....आफ्नो सुरक्षाको निम्ति तिमीलाई ढाल बनाएकी थिएँ....एउटी युवतीको निम्ति आफुलाई बचाउनु एक्लो लोग्ने मान्छेभन्दा अरु राम्रो माध्यम हुनैसक्दैन र त्यसदिन त्यस्तै भएको थियो तर त्यसपछि....त्यसपछि अर्को दिन तिमीसित हिँडने पखिला थिई....पखिला कुनै आडम्बर र मुखौटो बिना आफ्नो असली अनुहारमा...त्यो अर्को दिन तिमीलाई भेटनु जाऊँ कि नजाऊँ म दोधारमा थिएँ....तर पहिलो दिन तिमीले मलाई जानी-जानी दिएको सुरक्षा अनि त्यो दिन तिमीसित हिँड़दा मैले स्वयंलाई महसुस गरेको अनुभूतिले गर्दा म आफैलाई रोक्न सकिनँ...दोस्रो दिन म नआउनु पनि सक्थें तर म आएँ अनि त्यो दिन म ‘म’ भएर बाँचे....एकैदिन भए पनि मलाई ‘म’ भएर बाँच्नु दिएको निम्ति तिमीलाई धन्यवाद छ।'
‘जीवन नै एउटा संजोग हो पखिला.......जीवनको यात्रामा संजोगमै हामी थुप्रै मानिस भेट्छौं....धेरैलाई बिर्सिन्छौं तर थोरैले मात्र हाम्रो मन र दिमागमा प्रभाव पार्छ अनि जीवनभरि उनीहरुलाई बिर्सन सक्दैनौ....ती थोरैमध्ये मेरो निम्ति तिमी पनि एक हौं.....धन्यवाद त तिमीलाई छ तिमीले मलाई गुवाहाटी घुमायौ, देखायौ म एक्लो थिएँ तिमीले अप्ठ्यारो नमानी मेरो साथ दियौ, विरानो ठाउँमा तिमी मेरो साथी बन्यौ तिमीलाई धन्यवाद छ।'
उसले मायालु नजरले मलाई हेरी.....मैले विस्तार उसलाई आफ्नो अङ्गालोमा बाँधें अनि भीडको पर्वाह नगरी उसको निधारमा म्वाइँ खाएँ।
आफ्नो हातको पोलिथिन मलाई दिंदै अवरुद्ध आवाजमा –‘यो तिम्रो निम्ति...मेरो तर्फबाट...सानो यादगार...तिमी जाड़ो ठाउँको मान्छे जाडोमा काम लाग्ने चीज छ....तिमीलाई मन पर्छ कि पर्दैन!’-भनी।
रेलले अन्तिम सिटी फुक्यो।
उसको दुवै हात च्याप्प पक्रेर मैले भनें –‘पखिला....तिमी के गर्छौ मलाई थाहा छैन म सोद्धिन पनि....तिम्रो काम राम्रो हो वा होइन म त्यो पनि जान्दिनँ, जान्न चाहदिनँ पनि....तिम्रो विचार सही हो वा अनुचित म तर्क गर्दिनँ.....तिम्रो युद्ध सही हो वा गलत म केही भन्दिनँ....तर जाँदा-जाँदा यति भन्न चाहन्छु कि म अर्कोपल्ट आसाम आउँदा पखिला यसरी लाचार भएर भाग्दै कुनै अञ्जान पुरुषको शरणमा गएकी हेर्न नपरोस्, कुँजिएकी, बाँधिएकी त्रसित पखिला भेटन नपरोस्...आसामको शान्तिमय वातावरणमा आसामको कुनाकाप्चा, वनजङ्गलमा खुला आकासमुनि एउटै रङ्गमा होइन तर इन्द्रेणी जस्तै थरी-थरीको रङ्गमा पखिला हाँस्दै, गाउँदै,नाच्दै, इतरिंदै उड़िरहेकी हेर्नपाउने मेरो चाहना छ.....बिहू र हत्रीय नाचमा कम्मर भँचाउँदै नाच्ने उन्मुक्त पखिला हेर्नपाउने मेरो इच्छा छ....पखिलाको हातमा बारुदको गन्ध होइन तर आसामको आउँदो पिँढीको भविष्यको योजना र कमान हेर्नपाउने मेरो धोको छ.....मलाई विश्वास छ मेरी पखिलाले मेरो यो चाहना पुरा गरिदिनेछे।‘
रेलले विस्तार स्टेशन छोड़न थाल्यो......म रेलमा चड़ेँ....शनै:शनै: रेलले गति पक्र्यो अनि हात हाल्लाउँदै गरेकी पखिला आँखाबाट ओझेल भएपछि म गएर आफ्नो सीटमा बसेँ।
पखिलाले दिएको पोलिथिनबाट पोको निकालेँ अनि खोलेँ...एउटा ज्याकेट रहेछ...पहेँलो ज्याकेट.....पहेँलो...मित्रताको चिह्न.....पहेँलो.....वसन्तको उल्लासको प्रतीक.....पहेँलो....एकाग्रता र भक्तिको निशान। ज्याकेट लगाउनपर्ने मौसम नभए पनि मैले ज्याकेट खोलेँ अनि लगाएँ। ज्याकेटले मेरो शरीर स्पर्श गर्दा मलाई पखिलाको स्पर्श आभास भयो र उन्मादमा निकै बेरसम्म मैले आँखा चिम्म गरेर त्यो स्पर्श महसुस गरिरहेँ।
मेरो बौलाहापन देखेर मेरा सहयात्रीहरु मुसुमुसु हाँसेको चाहिँ मैले देख पाइनँ।
Beautifully written. Really liked the story.
ReplyDeleteपढनै पर्ने एउटा मिठो कथा
ReplyDelete